६ बैशाख, २०८१ बिहिबार

06:33:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा १ हजार ८०५ वटा विद्युतीय गाडी आयात

Nepal Business

९ साउन, २०७९

एक वर्षमा १ हजार ८०५ वटा विद्युतीय गाडी आयात

काठमाण्डौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०५ वटा विद्युतीय चार पाङग्रे गाडी आयात गरेको छ । यो वर्ष अन्य वर्षको तुलनामा धेरै आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ वटा विद्युतीय कार÷जीप भ्यान आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विद्युतीय सवारी आयातको उच्च दरमा बढेको छ । तर, उत्पादक तथा वितरक कम्पनीहरुले मागअनुसार गाडी आपूर्ति गर्न सकिरहेका छैनन् ।
यो वर्ष शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै गरिएको विभागले जनाएको छ । 

सार्वजनिक विद्युतीय सवारीका हकमा पनि कुनै दर परिवर्तन नगरी पुरानै दर कायम गरिएको छ । अरुभन्दा कम मूल्य पर्ने १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तशुल्क ३० प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क पनि ३० प्रतिशत नै लगाएको छ ।

आर्थिक विधेयक २०७९÷८० अनुसार २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ प्रतिशत कायम गरेको छ । र, अन्तःशुल्क दर ४५ प्रतिशत नै कायम गरेको छ । यी दुवै जोड्दा ९० प्रतिशत कर लाग्ने बनाएको छ । ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तशुल्क दर पनि ६०/६० प्रतिशत कायम गरेको छ । यी दुवै जोड्दा १२० प्रतिशत कर लाग्ने अवस्था छ ।

गत आर्थिक वर्षमा १०० किलोवाटसम्मका ९९६ वटा सवारी नेपाल भित्रिएको छ । १०० भन्दा ठूलो तर १५० किलोवाटसम्मका १३ वटा विद्युतीय चारपांग्रे सवारी आयात भएको छ । १५० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका ७९२ वटा विद्युतीय कार जीप र भ्यान आयात भइसकेको छ । २ सय किलोवाटभन्दा धेरैका ४ वटा सवारी नेपाल भित्रिएको छ ।

वर्षभरिमा ५ अर्ब २९ करोड रुपैयाँ मूल्य बराबरको विद्युतीय सवारी आयात भएको छ । यी सवारीबाट सरकारले १ अर्ब ४२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीको करमा व्यापक वृद्धि गरेपछि घटेको विद्युतीय सवारीको आयात चालु आर्थिक वर्षमा कर कम गरिएपछि बढ्न थालेको थियो । यो वर्ष सरकारले तल्ला रेन्जका विद्युतीय गाडीमा भन्सार दर पुरानै कायम गरेर ठूला क्षमताका गाडीमा बढी भन्सार लगाएको छ ।