१३ बैशाख, २०८१ बिहिबार

05:23:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नरको राजीनामा माग गर्दै ३ विद्यार्थी संगठनद्धारा राष्ट्र बैंक अगाडि प्रदर्शन, राजीनामा नदिए चरणबद्ध आन्दोलन गर्ने चेतवानी

Nepal Business

४ साउन, २०७९

गभर्नरको राजीनामा माग गर्दै ३ विद्यार्थी संगठनद्धारा राष्ट्र बैंक अगाडि प्रदर्शन, राजीनामा नदिए चरणबद्ध आन्दोलन गर्ने चेतवानी

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बुधबार पनि विरोधका कार्यक्रम गरिएको छ । 

आज राष्ट्र बैंकको अगाडि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठनहरुले बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘अवैध गभर्नर राजीनामा दे’ भन्दै विरोध प्रदर्शन गरेका छन् । 

गभर्नरले राजीनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने विद्यार्थीहरुले जनाएका छन् ।  विद्यार्थी संगठनहरुले गभर्नरको शैक्षिक योग्यतामा पनि प्रश्न उठाएका छन् । साथै, गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको उनीहरुको दाबी छ ।

विशेषगरी, एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै चर्को आलोचना भइरहेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरिसकेका छन् ।

विरोध कार्यक्रम अनुसार साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरका कार्यालयमा कालो ब्यानर राख्ने कार्यक्रम रहेको छ ।  साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिरया कार्यक्रम गरिने भएको छ ।

यस्तै, साउन ७ गते सांसदहरुलाई गभर्नरलाई बर्खास्त गर्न माग गर्दै दबाका कार्यक्रम गरिने भएको छ।  गभर्नर अधिकारी एमालेको एउटा विभाग सदस्य भएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ।

सडकदेखि सदनसम्म विरोध भइरहँदा पनि गभर्नरले राजीनामा दिनुभएको छैन । मौद्रिक नीतिको अन्तिम तयारी भइरहँदा गभर्नर विवादमा तानिनुभएको हो ।