५ जेठ, २०८१ शनिबार

01:24:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमपातले विकासे योजनाको काम ठप्प

Nepal Business

२३ पुस, २०७८

हिमपातले विकासे योजनाको काम ठप्प

२३ पुस । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघुजलविद्युत आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघुजलविद्युत् आयोजनाको काम रोकिएको हो । यही माघसम्म काम सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण धकेलिने भएको छ । 

गएको साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन् । हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । सम्झौता भएको दुई वर्षभित्र अर्थात् गएको आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काममा कोभिडका कारण सामान ढुवानी गर्न नसक्दा धक्का पुगेको थियो । आगामी माघसम्मको म्याद थप गरेर काम अघि बढाए पनि अहिले हिमपातका कारण सबै कामकाज पूर्णरूपमा ठप्प भएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

विद्युत् आयोजनाका लागि भनेर पाखाओरालीमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट भएको वडाध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ । देउखोलाबाट प्रतिखेप दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको छ । श्रमदानसहित रु तीन करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । यस्तै सिस्ने–१ मा टावर निर्माणसँगै वडाबाट सम्झौता भई सञ्चालन भएका सबै विकासे कामकाज ठप्प अवस्थामा रहेको वडा कार्यालयले जनाएको छ । पुथाउत्तरगङ्गा गाउँपलिका–१,२,३ र ५ मा पनि सञ्चालन भइरहेका विभिन्न विकासे योजनाको कामकाज ठप्प भएको छ । 

त्यस क्षेत्रमा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउने, तारबार, धारो, कुवा, म्युजियम निर्माणको काम सबै रोकिएको वडा नं १ का कार्यवाहक अध्यक्ष मग कामीले बताउनुभयो । गएको सातामा जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातले मानिसको दैनिकी कष्टकर त बनेको छ नै, विकासे योजनाको काम रोकिँदा कामकाज पनि पछि धकेलिएको छ ।