१६ कार्तिक, २०८१ शुक्रबार
11:18:42 AM
६ असार, २०७९
२० लाखमा सुरु गरेको हाइलाइफ अहिले करिब ७० करोडको लागतमा पुगेको
काठमाण्डौं । ‘हुने बिरुवाको चिल्लो पात’ भने झै प्रशान्त घिमिरे सानैदेखि होसियार । कक्षा २÷३ मा पढ्दै गर्दा हजुरबुबाको होलसेल पसलबाट चकलेट, बिस्कुट लगायतका खानेकुरा लगेर बेच्थे।
सानै उमेर भएकाले परिवारले ‘बच्चा हो खेल्छ’ सोचे । उहाँमा सानैदेखि व्यवसायीको लक्षण देखिन्थ्यो । ‘बुटवलमा हजुरबुबाको होलसेल पसल थियो । त्यहाँबाट चकलेट, बिस्कुट लगेर फ्याक्ट्रीको तल राखेर बेच्थे’, विगत सम्झदै प्रशान्तले भन्नुभयो ।
बुटवलमा प्रशान्तका बुबा तुलसी घिमिरेको धागोको फ्याक्ट्री पनि थियो । फ्याक्ट्रीको ‘कम्फाउण्ड’मा उहाँको घर थियो। जसका कारण प्रशान्तको खेल्ने ठाँउनै फ्याक्ट्री । फ्याक्ट्रीका कामदार उहाँका साथी ।
प्रशान्त बच्चै भए पनि साथी भने उहाँका ठूला थिए । उहाँहरुसँगै प्रशान्त समय बिताउनु हुन्थ्यो ।फ्याक्ट्रीमा एक जना कम्प्यूटर इन्जिनियर हुनुहुन्थ्यो । प्रशान्तका बुबा आधुनिक प्रविधि प्रेमी भएकाले फ्याक्ट्रीको ‘डेटा’ राख्न कम्प्यूटर इन्जिनियर काम दिनुभएको थियो ।
उहाँ हप्ताको २/३ दिन फ्याक्ट्री आएर आफ्नो काम कम्प्यूटरमा गर्नुहुन्थ्यो । उहाँले काम गरेको प्रशान्तले देख्नु हुन्थ्यो । उहाँले चलाएको देख्दा प्रशान्तलाई निकै रमाइलो लाग्थ्यो। ‘दाइ आउनुहुन्थ्यो कम्यूटर चलाउनु हुन्थ्यो । त्यो कुरा मलाई रमाइलो लाग्थ्यो । म साइडमा उभिएर हेरिरहन्थे’, उहाँले भन्नुभयो । कम्प्यूटर प्रति उहाँको रुची बढ्दै गयो ।
कम्प्यूटर इन्जिनियरले गरेका कामलाई प्रशान्तले फेरी खोलेर त्यसमा आफै काम गर्न थाले । कसरी काम गरिएको छ भनेर । ‘दाइको आफ्नो कम्प्यूटर थिएन क्यारे ! उहाँले फ्याक्ट्री कै कम्प्यूटरमा आफ्नो कलेजको काम गर्नुहुन्थ्यो । कहिले केहि प्रोग्राम बनाउने, कहिले क्यालकुलेटर बनाउने’, उहाँले भन्नुभयो, ‘म छेउमा बसेर हेर्थे । मलाई निकै रुची लाग्ने । उहाँ आफ्नो काम सकेर जानु हुन्थ्यो । उहाँका फाइलहरु ओपन गरेर त्यसरी सिकेको हो ।’
आफूले सानैदेखि कम्प्यूटरको ‘एक्सपोजर’ पाएकाले चाँडै सिक्न सकेको बताउनुहुन्छ । प्रशान्तले ७/८ मा नै पढ्दा प्रोग्राम बनाइसक्नुभएको थियो । सुरुमा उहाँले आफ्नो बुबाको फ्याक्ट्रीका लागि ‘अटेन्डेन्स म्यानेज’का लागि सफ्टवेयर बनाउनुभयो । ‘ड्याडीले हाम्रै फ्याक्ट्रीको अटेन्डेन्स म्यानेज गर्न एउटा प्रोग्राम बनाउन भन्नुभयो । मैले ट्राइ गरे त्यो बन्यो । त्यसपछि अझ बढि गर्ने प्रेरणा मिल्यो’, प्रशान्त भन्नुहुन्छ ।
त्यसपछि प्रशान्तले आफू पढ्ने विद्यालयको अटेन्डेन्स म्यानेजको सफ्टवेयर बनाउनुभयो र घर नजिकैको टेलिकमको लागि बिलिङ सफ्टवेयर पनि बनाउनुभयो । यतिबेला प्रशान्त कक्षा ७ मा पढ्नुहुन्थ्यो ।
७ कक्षादेखि नै प्रशान्तले कमाउन थालिसक्नुभएको थियो । तर उहाँको जागिरभन्दा पनि सानैदेखि ‘बिजनेश’ गर्ने सोच थियो । ‘सानैदेखि म बिजनेश गर्ने कुरामा किलियर थिए । फ्याम्ली बिजनेशभन्दा पनि मेरो टेक्नोलोजी तिर रुची भएकाले सफ्टवेयर बेस बिजनेश गर्छु भन्ने थियो’, उहाँले भन्नुभयो, ‘मैले २०१३ मा ‘थिङ ट्याङ नेपाल’ सुरु गरे । जसको म को–फाउण्डर र सिईओ थिए । यसमा हामीले रोबोटिङ र अटो मेसिन सम्बन्धी काम गर्थ्यौँ ।’
प्रशान्तको आफ्नै स्टार्टअप व्यवसाय भए पनि परिवारले भने पारिवारिक व्यवसायमा साथ उहाँको साथ खोज्यो । त्यसपछि प्रशान्त पारिवारिक व्यवसायमा जोडिए । तर फरक सोचका साथ ।
सन् २०१९ मा प्रशान्तले हाइलाइफ फुड ब्राण्डको सुरुवात गर्नुभयो । पारिवारिक व्यवसायकै निरन्तरता हो हाइलाइफ ब्राण्ड । तीन वर्षदेखि भने कम्पनीले रि–ब्रान्डिङ गरेर ब्रान्डेड प्रोडक्टहरू मात्रै बजारमा ल्याइरहेको छ। कम्पनीले चिउरा, कर्नफ्लेक्स उत्पादन तथा बिक्रि वितरण गर्छ । बुटवल भैरहवा करिडोरमा अवस्थित हाइलाइफल फुडको तीनवटा कारखानाहरू छन्।
प्रशान्तका बुवाले खाद्य उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएको थियो । विसं २०५८ सालमा उहाँका बुवाले कर्नफ्लेक्स उद्योग सुरु गर्नुभएको थियो । त्यसपछि बि.सं २०७० तिर चिउराको उत्पादन सुरु गर्नुभयो । त्यतिबेला उहाँहरुको कम्पनीले अरु ब्रान्डहरूको लागि बल्कमा उत्पादन गर्थ्यो ।
तर त्यो उत्पादन परम्परागत रुपमा थियो । व्यवसायलाई नयाँ रुप दिन र नयाँ तरिकाले अगाडि बढाउने परिवारको योजना भयो । जसका लागि परिवारको रोजाईमा प्रशान्त पर्नुभयो ।
पारिवारिक व्यवसाय काधमा आएपछि प्रशान्तले त्यसलाई आफ्नो तरिकाले अगाडि बढाउनतिर लाग्नुभयो । त्यसका लागि उहाँले मार्केट रिसर्चमा काम थाल्नुभयो । ‘हाम्रोमा परम्परागत तरिकाले काम भइरहेको मैले पाए । त्यो मेरा लागि उपयुक्त भएन । त्यसपछि मैले फरक तरिकाले काम गर्न थाले । मसँग भएको टेक्नोलोजी सम्बन्धी ज्ञानलाई प्रयोग गरे । आफै मोर्कटमा गएर आफ्ना प्रडक्टहरुका बारेमा फिडब्याक लिन थाले’, उहाँले भन्नुभयो, ‘उहाँहरुको सुझाव अनुसार नै पडक्टमा सुधार गर्दै गयौ । बजारमा हामीले जस्तो उत्पादन गर्ने धेरै कम्पनी थिए । ती कम्पनी भन्दा गुणस्तर र राम्रो कसरी दिन सकिन्छ भन्ने तिर लाग्यौँ ।’
बजार अध्ययनको करिब ७/८ महिनापछि उहाँहरुले अरुभन्दा फरक र गुणस्तर चिउरा तथा कर्नफ्लेक्सका साथ बुटवलको बजारबाट हाइलाईफ ब्रान्डको सुरुवात गर्नुभयो । खासमा यो व्यवसाय पारिवारिक भए पनि उहाँले छुट्टै कम्पनी खडा गर्नुभएको हो । ताकी यस कम्पनीले आफ्नै कम्पनीको प्रडक्टलाई खरिद गर्न ।
हाइलाईफ फुडले पूरानो कम्पनीको उत्पादनलाई खरिद गर्न थाल्यो । पुरानो उद्योगको १०५ उत्पादनलाई हाइलाइफले खरिद गरेर सुरुवात गरेको उहाँ बताउनुहुन्छ । विस्तारै कम्पनी उकालो लाग्दै गर्दा सञ्चालनमा आएको अर्को वर्ष हाइलाईफले ६०५ उत्पादन खरिद गर्यो । यसरी नयाँ तरिकाले कम्पनी सञ्चालन गर्न उहाँले करिब ३० लाखको लागत लगाउनु पर्यो।
२० लाखमा सुरु गरेको हाइलाइफ अहिले करिब ७० करोडको लागतमा पुगेको छ भने वार्षिक सय करौडोको कारोबार गर्ने लक्ष्य रहेको सञ्चालन घिमिरे बताउनुहुन्छ ।
हाइलाईफका ९० वटाभन्दा बढिका प्रडक्ट बजारमारहे पनि सबै प्रकारका ‘प्रडक्ट’ उत्पादन गर्ने उहाँको योजना छ ।
‘अहिले चिउरा, कर्नफ्लेक्स त बजारमा छ नै, त्यस बाहेक मसेउरा, पापड, सोबिन, जाम, ओट् केचप, ग्रिन टी, तेल, आँटा, दाल, पापड लगायतका प्रडक्ट बजारमा छन्’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार टेक्नोलोजीको भरपूर प्रयोग, डेटा बेस डिसिजन मेकिङका कारण थोरै अवधिमा राम्रो सफलता हात पारेका छौँ । तर छोटो समयमा नै यति सफलता हात पार्छौँ भन्ने आफ्रले नसोचेको उहाँ बताउनुहुन्छ ।
हाइलाईफले दैनिक १ हजार किलो चिउरा र २५ सय किलो कर्नफ्लेक्स उत्पादन गर्दै आएको छ । हाइलाइफका बजारमा माग भएका उत्पादन पनि यी नै भएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार हाइलाईफले २०७७ र ७८ मा गरेको बजार अध्ययनले हाइलाईफ ब्रान्डको कर्नफ्लेक्सले अन्तराष्ट्रिय ब्राण्डभन्दा राम्रो गरेको छ । हाइलाईफको अन्तराष्ट्रिय बजार हंकङ र जापान हो भने अहिले ताइवानमा पनि यसका प्रडक्टहरु निर्यात भइरहेको छ । अब भने भारतमा हाइलाईफलका प्रडक्ट लैजाने योजना संचालक घिमिरेको छ।