७ मंसिर, २०८१ शुक्रबार
07:04:33 PM
६ बैशाख, २०७९
काठमाण्डौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार दायर गरेको रिटमा आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
गभर्नर अधिकारीको रिट निवेदनको पेशी आज (मंगलबार)लाई तोकिएको सर्वोच्चले जानकारी दिएको हो ।
निलम्बन खोरेजीको माग गर्दै गभर्नर अधिकारी आइतबार सर्वोच्च पुग्नुभएको थियो । आइतबार सर्वोच्च अदालत पुगे पनि उहाँको रिट निवेदन दायर भएको थिएन । सर्वोच्चले आइतबार उहाँको रिट निवेदनमा अध्ययन गरेको थियो । अध्ययनपछि मात्र रिट सोमबार दर्ता भएको थियो ।
सर्वोच्चमा दायर गरेको रिटमा अधिकारीले सरकारको निर्णय खारेज गरी आफूलाई काम गर्ने वातावरण मिलाउन अन्तरिम आदेशको माग गर्नुभएको छ ।
गभर्नर अधिकारीको निलम्बन खारेजीको माग गर्दै आइतबार राष्ट्र बैंकका कर्मचारीहरुले कार्यालयमै कालो ब्यानर देखाएर विरोध गरेका थिए ।
सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा अध्ययन समिति बनाएको छ ।
राष्ट्र बैंक ऐनमा गभर्नरलाई बर्खास्त गर्नुअघि अध्ययन समिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ । हाल गठन गरिएको समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।