२० बैशाख, २०८१ बिहिबार

04:14:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य निर्धारण कसरी हुन्छ ?

Nepal Business

१२ फागुन, २०७८

सुनको मूल्य निर्धारण कसरी हुन्छ ?

काठमाण्डौं 

तपाईहरुले लगाएको गरगहनाको मूल्य कसरी निर्धारण हुन्छ कहिले सोच्नु भएको छ ? कतिले त नेपालका सुन व्यवसायीहरुले मूल्य तोक्छन् भन्ने पनि सोच्नु भएको होला ! 

तर त्यसो होइन । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्ले अन्तराष्ट्रिय बजारका आधारमा नेपालमा सुनको मूल्य निर्धारण हुने बताउनुभएको छ । ‘नेपालको सुनको मूल्य हामीहरुले आफू खुसी तोक्दैनौ । नेपालमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ’, उहाँले भन्नुभयो, ‘ भारत र दुबईको मूल्य पनि ध्यानमा राखेर मूल्य निर्धारण हुन्छ ।’

उहाँका अनुसार बिहान प्रत्येक दिन १० बजे अन्तराष्ट्रिय बजारका आधारमा नेपालको मूल्य सार्वजनिक गरिन्छ । जसमा नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर (डलर) गुणन गरिने उहाँले बताउनुभयो । ‘यसरी गुणन गरेर आएको मूल्य प्रतिग्राममा भन्सार जोडिन्छ’, उहाँले भन्नुभयो । सुनको मूल्य निर्धारण हुने मुख्य आधार अन्तर्राष्ट्रिय बजार र राष्ट्र बैंकको विनिमय दर नै रहेको अध्यक्ष शाक्यले बताउनुभयो । 

सुनको मूल्य बिहीबार तोलामा २५ सय रुपैयाँले बढेर ९९ हजार पुग्यो । धेरैले विहेको सिजन भएकाले सुनको मूल्य बढेको आँकलन गरेका छन् । तर विज्ञहरु सुनको मूल्य बढ्नुमा द्धन्द्धको प्रभाव रहेको बताउछन् ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्य सुनको मूल्य बढ्नुमा आन्तरिक बजारको कुनै हात नरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढ्छ । 
उहाँले भन्नुभयो, ‘आज सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढि छ । जसको असर नेपालमा पनि देखियो । हामीले सुन ल्याउने भनेकै बाहिरबाट हो ।’

यस्तै उहाँले रुस र युक्रेनबीचको द्धन्द्ध पनि सुनको मूल्य बढ्नुको कारण भएको बताउनुभयो ।  ‘अन्तराष्ट्रिय द्धन्द्धका कारणले बजारको भाउमा असर गर्छ । द्धन्द्ध भयो भने लगानीकर्ता डराउन्छन् र लगानी सुरक्षित गर्न चाहन्छन् । सुरक्षित लगानी भनेको सुन हो’, उहाँले भन्नुभयो, ‘जस्तो लकडाउन हुँदा सबै ठपप भएका बेला लगानीकर्ताले सुनमा लगानी गरेका थिए ।’