१२ बैशाख, २०८१ बुधबार

10:21:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डेढ सयको लगानी, लाखौंको कारोवार, यमुना देवी श्रेष्ठ ‘माँ’ को सामाजिक र व्यवसायिक कथा

Nepal Business

२६ माघ, २०७८

डेढ सयको लगानी, लाखौंको कारोवार, यमुना देवी श्रेष्ठ ‘माँ’ को सामाजिक र व्यवसायिक कथा

काठमाण्डौ

उँहालाई सबैले ‘माँ’ भन्छन् । उँहा हुनुहुन्छ, ‘उद्यमी तथा समाजसेवी यमुना देवी श्रेष्ठ ।’ उद्यमी भए पनि उँहाका अनेकौ काम छन्, ‘माँ’ जस्तै । यति मात्र होइन, धेरै महिलाका लागि उँहा ‘रोजगारदाता’ पनि हुनुहुन्छ । त्यसकारण उँहा सबैका लागि ‘माँ’ । 

यमुना श्रेष्ठ अहिले जे हुनुहुन्छ यसको पछाडि लामो संर्घष, अठोट र प्रतिवद्धताको कथा छ । उहाँ भन्नुुहुन्छ मलाई एक्लै बस्न मनै पर्दैन । मेरो समुह बनाएर बस्ने बानी छ । मैले लामो समय संस्थामा काम गरे । कामको सिलसिलामा मिडियासँग कुराकानी गर्थे । टिभीमा देखेर मेरो ठाँउका दिदिबहिनीहरुले केहि गर्नुपर्यो भन्नुभयो’, श्रेष्ठले विगत सुनाउदै भन्नुभयो, ‘त्यसपछि मैले उन्नती आधार महिला समुह बनाए।’

महिला दिदिबहिनीको पहलमा २०५८ सालमा उन्नती आधार महिला संस्था जन्मियो । समुहको उद्देश्य ‘सशक्तिकरण’ । सशक्तिकरण महिलाका लागि मात्र होइन, सबैका लागि । समुहको उद्देश्य जस्तै काम रहेको श्रेष्ठ बताउनुहुन्छ । उँहाका अनुसार समुहले विभिन्न किसिमका सिपमूलक तालिम दिने काम गर्छ ।

कस्ता तालिम ?

‘हाम्रो समुहले सिलाईकटाई, बुनाई, अचार, जाम, सरफ, साबुन, प्लम्बिङ, इलोक्ट्रोनिक लगायतका तालिम दिन्छौँ’, उँहा भन्नुहुन्छ, ‘हाम्रो उद्देश्य भनेको आवश्यकता परेका र सिक्ने इच्छा शक्ति भएकालाई तालिम दिने हो ।’ सिप सिकेर उद्यम गर्न चाहन सबैलाई आफूहरुले तालिम दिइरहेको उँहाले जानकारी दिनुभयो ।

महिला समुह भए पनि तालिम भने सबैलाई दिने गरिन्छ । रोजगारले लैङगिक विभेद नगर्ने भएकाले आफूहरुले मेहनती, लगनशिल र कामको आवश्यकता भएकालाई तालिम दिने गरेको श्रेष्ठ बताउनुहुन्छ ।‘‘संस्था भनेको मन्दिर हो, त्यसमा जो पनि आउन सक्छ । हामी कसैलाई भेदभाव गर्न आवश्यक छैन’, श्रेष्ठले मुस्कुराउँदै भन्नुभयो, ‘आवश्यकता परेका महिला, पुरुष, सबै उमेर समुहका लागि तालिम दिन्छौँ ।’

विभिन्न किसिमका तालिम दिँदै आएको महिला समुह स्थापना भएको २१ वर्ष हुँदैछ । यस अवधिमा समुहमा धेरै उचारचढाव आए, तर पनि हार नमानी आफूहरुले संस्थालाई अगाडी बढाइरहेको श्रेष्ठ बताउनुहुन्छ । ‘हामीले संस्था खोलेको केहि वर्षमा जनआन्दोन सुरु भयो । म सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय भएकाले २०६२/०६३ को जनआन्दोलनमा म र मेरो श्रीमान सक्रिय भएर लाग्यौ’, उँहाले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘सो आन्दोलनमा दुबै जना घाइते भएर ओछ्यानमा बास भयो । तर पनि आफ्नो मन भने समुह तिर नै थियो। समुहका मान्छेलाई घरमै बोलाउथेँ। मिटिङ गर्थेँ । तर आफू बेडबाट उठन सक्थेन । छोरीले मलाई कराउन्थिइन् । हजुरको स्याहार गर्ने की हजुरका मान्छेको । मेरो स्वभाव नै यस्तै हो । सबैका बारेमा सोच्नु पर्छ । र आफूले बनाएको मन्दिरलाई कसरी अलपत्र छोड्ने, सकिदैन नि।’

स्थानीय सरकार बनेदेखि आफ्नो समुहलाई सरकारले उपेक्षा गरेको उँहाको गुनासो छ । स्थानीय सरकारमा कृपावाद हाबी भएको पनि उँहाले बताउनुभयो । स्थानीय सरकार बनेपछि काम गर्न सजिलो हुने भनिए पनि उँहाका लागि भने असहज भएको छ । ‘स्थानीय चुनाव भएदेखि तालिममा धेरै ग्याप भएको छ । नीतिहरु परिर्वत भएका कारणले पहिले हामीलाई सिप विकास, श्रम मन्त्रालय तथा घरेलु साना उद्योगले तालिम दिन्थ्यो । जिल्ला विकासबाट पनि हामीले तालिम ल्याउथ्यौँ । त्यो सबै बन्द भयो । यो सबै स्थानीय सरकार आएपछि हाम्रो कार्यक्रम नै ग्याप भयो’, उँहाले भन्नुभयो, ‘यसपाली पनि ७० वटा तालिम आयो रे । तर उँहाहरुले आफ्ना मान्छे, कार्यकर्ताहरुलाई दिनुभयो । जसका कारणले हामीले आवश्यकता भएकालाई तालिम दिन सकिरहेका छैनौ।’

उँहाका अनुसार स्थानीय सरकारले उन्नती समुह जस्ता समुहलाइरु सहयोग गर्न उहाँले माग गर्नुभयो । यस समुहबाट धेरैले सिप तथा रोजगार पाएका छन् भने कति उद्यमी बनेका छन् । समुहमा सिपमूलक तालिम दिने ४ जना महिला छन् । तर उँहाहरुले पूर्ण रुपमा तलब पनि नपाएको श्रेष्ठले बताउनुभयो । 

समुहले सिप मात्र होइन, शिक्षा पनि दिन्छ । उन्नती समुह अन्र्तगत ‘उन्नती महिला विद्यालय’ छ । जँहा पढ्न छुटेका, पढ्न चाहना भएका र आर्थिक अवस्था कमजोर भएका सबै उमेर समुहका मानिसहरुले पढ्न पाउँछन् । सो समुहले वि.स. २०६५ सालदेखि पढाउन सुरु गरेको हो ।

विगत १३ वर्षदेखि पढाउदै आउनुभएकी शिक्षिका सुनिता नेपालले यस विद्यालयमा सरकारी विद्यालयको पाठ्यक्रम अनुसार नै कक्षा ८ सम्म पढाइ हुने बताउनुभयो । ‘राज्य र शिक्षाबाट वञ्चित महिला र पढ्न छुटेका नानीबाबु, आमा सबैलाई पढाउछौँ’, उँहाले भन्नुभयो, ‘७ देखि ६० वर्षसम्म मुनिका पढिरहेका छन् । जिल्ला शिक्षाबाट पढाउन अनुमति दिएको १५ देखि ६० वर्ष मुनिकालाई हो । त्यसपछि हामीले अन्य उमेर समुहका लागि भर्ना लिएनौ । बाँकी अरु स्कुलमा जाँदा हामीले तपाईलाई भर्ना लिन मिल्दैन महिला स्कुल छ त्यँहा जानुभन्दा रहेछन् । हामीले पनि फर्काउने र अर्को विद्यालयले पनि भर्ना नलिने भएपछि १५ वर्षमुनिका कँहा जाने विद्यालय भनेको शिक्षा दिने हो भनेर सबैलाई पढाउन सुरु गर्यौ ।’

पढाईसँगै उँहाहरुलाई आफूहरुले वातावरण कम्पोष्ट मल सम्बन्धी तालिम दिने गरेको पनि नेपालले जानकारी दिनुभयो । शिक्षिका सुनिता विद्यालय सुरु भएदेखि नै जोडिनु भएको हो । विद्यालयलाई अहिलेसम्म निरन्तर रुपमा सफल तरिकाले सञ्चालन गर्नमा उँहाको ठूलो हात छ । ‘सुरुवाती दिनमा हामीले धेरै दुख पायौँ । आफ्नो स्कुल भवन थिएन।  जुन भवन थियो त्यो वडाले दिएको थियो । बजेटको अभावले त्यो पनि खोस्यो । हामीले छोड्न नमानेपछि कहिले मरेको कुकुर ल्याएर फाल्ने, कहिले ढल तर पनि दिदिबहिनीहरु सिढीमा सुकुल राखेर पढ्थे’, उँहाले भन्नुभयो, ‘धेरै दुखपछि अहिले राम्रो भएको छ । हाम्रो विद्यालयमा पढेका अफिसमा काम गरिरहेका छन् ।’

ओमफुड प्रडक्शन कसरी सुरु भयो ?

उद्यमी तथा ओमफुडकी सञ्चालिका श्रेष्ठका अनुसार ओमफुडको सुरुवात पनि वि.स. २०५८ सालतिरै भएको हो । खाली बस्न मन नपर्ने र श्रीमान पनि जागिरे भएकाले श्रेष्ठले खाद्यबाट जाम बनाउने तालिम लिनुभयो । ‘मेरो श्रीमान जाम किनेर खाने र मैले खाद्यमा जाम बनाउन सिकेको थिए । मैले घरमा जाम बनाएर श्रीमानलाई खान दिए मिठो मान्नुभयो’, उँहाले भन्नुहुन्छ, ‘त्यसपछि उन्नती समुहको वार्षिकत्सव थियो । सो अवसरमा समुहका दिदिबहिनी मिलेर जाम बनाएर राख्यौ । बिक्रि भयो । त्यसपछि मेरो दिमागमा के आयो भने सबैले मन पराउदो रैछ । यसलाई व्यवसाय बनाउनु पर्छ।’ तर श्रेष्ठले त्यो बेलासम्म आफ्नो उद्यम बनाउनुभएको थिएन ।

उँहाले आफ्नो व्यवसायलाई सफल बनाउन दिनरात खाट्नुभयो । ‘उद्योगलाई सन्तान जस्तै माया गर्नुपर्छ । अनि मात्र सफल भइन्छ’, उँहाले भन्नुभयो, ‘अस्ति जाम बनाउने मेसिन बिग्रेर म रातभरी सुतेन । सानो केहि हुँदा भोक प्यास लाग्दै । संस्थामा फलानो आएन म नि आउँदिन भन्न सकिन्छ। तर उद्योगमा त्यो भन्न पाइदैन । कष्टमरको हेल्थसँगको कुरा हुन्छ । त्यसमा रिस्क लिनै सकिदैन । रातदिन केहि भन्न पाइदैन। अनि सफल भइन्छ ।’ 

धैर्यता, लगनशिता र मेहनतले उँहाले जाम उत्पादन सुरु गरेको १ वर्षमा अचार बनाउन सुरु गर्नुभयो । अचार बनाउन पनि खाद्यबाटै तालिम लिएको श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले ओम फुड प्रडक्टमा जामसँगै अचारका २८ भेराइटी, क्यान्डी, क्वाटी, गुन्दुकको अचार लगायतका वस्तु उत्पादन हुन्छन् । उत्पादन गरिएका वस्तुहरु भाटभटेनी सुपर मार्केट, होटल लगायतका ठाँउमा जान्छन् । 

डेढ सयबाट सुरु गरेको उद्यममा अहिले ५० लाखको कारोबार हुने उँहाले जानकारी दिनुभयो । तर आफूहरुले सोचे जस्तो सफल भने हुन नसकेको उँहाले बताउनुभयो । ‘हाम्रो सरकारले अझै पनि नेपाली प्रडक्टलाई प्रोहत्सान गर्न सकेको छैन’, उँहाले भन्नुभयो, कतिलाई त नेपाली उत्पादनका बारेमा थाहा नै हुँदैन । नेपाली  प्रडक्टलाई प्रचारप्रसारको खाँचो छ ।’ सरकारले नेपाली उत्पादनलाई प्रोहत्सान गर्न उँहाले आग्रह गर्नुभयो ।