५ जेठ, २०८१ शनिबार

09:55:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्ता छन् ऊर्जाका प्रगति

Nepal Business

७ माघ, २०७८

यस्ता छन् ऊर्जाका  प्रगति

७ माघ । वर्तमान गठबन्धन सरकारको छ महिनामा उर्जामा देखिने प्रगति भएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले संविधान प्रदत्त समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयन गराएको छ । 

वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भए गरेका सकारात्मक कामकारवाहीबारे आज जानकारी दिनुभएको हो । वर्तमान सरकार गत असार २९ गते गठन भएको हो । सरकारमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दल सहभागी छन् । 

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा देशको ऊर्जा तथा सिँचाइको क्षेत्रमा भए गरेका प्रगतिकाबारे जानकारी दिनुभएको छ । वर्तमान सरकारले झण्डै २५ लाख विद्युत्का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध गराएको छ । 

  • झण्डै २५ लाख विद्युत्का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध 
  • चालु आवमा एक हजार ३०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यsf] ५० प्रतिशत छ महिनामा नै प्रणालीमा जोडिएको 
  • मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ
  • प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको 
  • नेपालको बिजुली भारतमा निर्यात शुरु भएको 
  • हिउँदमा झण्डै ५०० मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार सरकारले आफ्नो सार्वजनिक दायित्व अन्तर्गत २० युनिट बिजुली निःशुल्करुपमा उपलब्ध गराइएको यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । वर्तमान सरकारको प्रमुख उपलब्धीका रुपमा प्रधानमन्त्री देउवाले सो विषयलाई आज आफ्नो सम्बोधनका क्रममा उल्लेख गर्नुभएको हो । 

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो, “विद्युत्को ग्राहस्थ खपतमा २० यूनिटसम्म उपभोक्तालाई महसुल छुट गरिएको छ ।” त्यसैगरी सिँचाइ सुविधामा विस्तार गर्नका लागि साविकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियूनिट रु दुई कायम गरिएको छ । यसबाट कृषि क्षेत्रमा प्रत्यक्ष लाभ भएको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले सिँचाइतर्फको महसुलमा आकर्षक छुट दिएको हो । 

यस्तै, विद्युत्् उत्पादनतर्फ पनि यस वर्ष उल्लेख्य प्रगति भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना सम्पन्न भएका छन् । सरकारले चालु आवमा एक हजार ३०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । लक्ष्यको ५० प्रतिशत बिजुली वर्तमान सरकार गठन भएको छ महिनामा नै प्रणालीमा जोडिएको छ । 

यस अवधिमा माथिल्लो तामाकोशी ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । आयोजनाले व्यवसायीकरुपमा बिजुली उत्पादन गरेकाले नेपाल विद्युत्् प्राधिकरणले छ महिनासम्म भारतबाट बिजुलीसमेत आयात गर्नुपरेन । 

यस्तै निजी क्षेत्रको लगानी रहेका मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । त्यस्तै अन्य साना तथा मझौला आयोजनाले पनि बिजुली उत्पादन शुरु गरेका छन् । यसबाट बिजुलीमा देश क्रमशःआत्मनिर्भर बन्दै गएको छ ।

प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको छ । त्यस्तै सरकारको निरन्तरको प्रयासका कारण विवादको केन्द्रमा रहेको सोलु कोरिडोर १३२ केभी क्षमताको प्रसारण लाइनको पनि निर्माणको कार्य सम्पन्भएको छ ।

त्यस्तै, नेपालको बिजुली भारतमा निर्यात शुरु भएको छ । गत लक्षमीपूजाको दिनदेखि नुवाकोटका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात शुरु भएको हो । आगामी हिउँदमा झण्डै ५०० मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । यस अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्वाधरूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

यस्तै सुनकोशी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य समयमै सम्पन्न गर्ने गरी तीव्रगतिमा काम अगाडिसमेत बढाइएको उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो । rss