२२ बैशाख, २०८१ शनिबार

08:44:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धन र औषधिको अभावले श्रीलंकाका अस्पताल बन्द हुँदै

११ साउन, २०७९

इन्धन र औषधिको अभावले श्रीलंकाका अस्पताल बन्द हुँदै

कोलम्बो । चरम इन्धन र औषधि अभावले श्रीलंकाका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो ।

चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्तामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
 
श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन । देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् ।
 
यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले कन्त बिजोक बनेको छ । सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन्।

त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ । ’श्रीलंककाको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली समेत अहिले खतरामा छ,’ संयुक्त राष्ट्रसंघ निवासी संयोजक हाना सिंगर–हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् ’’सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्,’ उनले भनिन् ।
 
विश्व बैंकले श्रीलंकालाई एन्टि–रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ । यसैबीच भारत, बंगलादेश, जापानलगायत देशले पनि श्रीलंकालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् । यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन ।
 
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक संकट झनै बिग्रदै जाने देखिन्छ । जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्न समेत संघर्ष गरिरहेका छन् ।
 
सन् २०२२ को शुरुवात देखि नै श्रीलंकाले बढ्दो आर्थिक संकटको सामाना गरिरहेको छ । यसै बीच संयुक्त राष्ट्र संघले चेतावनी दिदै ५७ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेकोू बताएको छ ।

श्रीलंकाको अर्थतन्त्रले उत्पादनको लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तरराष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र संकूचनको सामना गरिरहेको छ ।
 
थुप्रै श्रीलंकालीहरूले खाद्यान्न र इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहँदा मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन शुरु भएको थियो जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा बने सुधारात्मक परिवर्तन भने ल्याउँन सकेको छैन ।
 
आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे ९ मा राजीनामा दिएका थिए भने उनका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा देश छोड्न बाध्य भए र त्यसको भोलिपल्ट राजीनामा दिएका थिए ।