१२ बैशाख, २०८१ बुधबार

02:02:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छः मन्त्री यादव

Nepal Business

८ साउन, २०७९

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छः मन्त्री यादव

काठमाण्डौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताउनुभएको हो । 

पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उहाँको भनाई छ ।

महिला प्रमुख भएर उदाहरणीय एवम् नमुना काम गरेकै परिणामस्वरुप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाई छ । उहाँले भन्नुभयो, ‘उहाँ मेयर बन्नुको पछाडी उहाँका बुबा प्रचण्डजीको कुनै आशिर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाईनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।’

मन्त्री यादवले थप्नुभयो, ‘रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।’यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक विस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताउनुभयो । 

वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उहाँले निर्देशन पनि दिनुभएको छ ।

हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ ।
मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राख्नुभयो । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताउनुभएको थियो ।

त्यस्तै उहाँले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।