१७ बैशाख, २०८१ सोमबार

08:41:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

Nepal Business

२ साउन, २०७९

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाण्डौं । काठमाण्डौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका–५ घर भएका बिधान, हिमाल श्रेष्ठ भन्ने २८ वर्षीय धन बहादुर रोका, काठमाण्डौं गौशाला बस्ने गुल्मी तम्घास नगरपालिका–२ घर भएका ३१ वर्षीय बिजय कुवँर, काठमाण्डौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाण्डौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भएका ३२ वर्षीय बिमल बहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका–१ घर भएका छोटे भन्ने २१ वर्षीय आशिष तामाङ रहेका छन् । 

उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मृगौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचाना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, बिजय र बिमललाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।