६ मंसिर, २०८१ बिहिबार

08:46:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको भरतपुरमा शिक्षक अस्पताल प्रस्ताव, ८ बिघा, १६ कट्ठा जग्गामा अस्पताल बन्ने

२६ पुस, २०७८

चितवनको भरतपुरमा शिक्षक अस्पताल प्रस्ताव, ८ बिघा, १६ कट्ठा जग्गामा अस्पताल बन्ने

काठमाण्डौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो । मन्त्रालयले पूर्व सम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा ८ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी सोमबार आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदैछ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवाला समेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमती गरेको हो ।

 सहमतीपत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ । सहमतीपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी) को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिनुभयो  । देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाको भनाई छ ।
महानगर प्रमुख दाहालले भन्नुभयो –शिक्षामन्त्री ज्युले राजधानी पछिको मेडिकल सिटी र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ । स्वयम् मन्त्री र सरोकारवालाले पनि भरतपुरलाई उपयुक्त ठान्नु भएको छ । महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो शिक्षण अस्पताल हुने उहाँको भनाइ छ । शिक्षण अस्पताल बनेपछि शिक्षकलाई आवश्यक सहयोग पुग्ने बताउनु भयो  । महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । स्वयम् प्रचण्डसमेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नुभएको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।

भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताउनु भयो  ।

उहाँले भन्नुभयो, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।” शिक्षा मन्त्रालयले डा.विमल चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो ।

समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनु भयो । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको दवाडीले जानकारी दिनुभयो । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो । समितिले जग्गा हेर्नु पूर्व पेसागत सङ्घ सङ्गठनसँग छलफलसमेत गरेको उहाँले जानकारी दिनुभयो  । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाइएको छ ।
भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै एकै ठाउँमा मिलेको जग्गा भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिनुभयो  । सबै हिसाबले भरतपुर उपयुक्त हुने उहाँले बताउनु भयो । शिक्षा मन्त्रालयले सुरुमा ३ सय शैया र क्रमशः शैया थप गर्दै लैजाने योजना बनाएको छ ।
 रासस