८ मंसिर, २०८१ शनिबार
03:13:27 AM
२५ पुस, २०७८
काठमाण्डौं
काठमाडौँ जिल्ला अदालत अगाडिको फुटपाथमा बेलाबेलामा वकील र कर्मचारीको भिडभाड देखिन्छ । उहाँहरु यसरी झुम्मिनुका पछाडी मुद्दा मामिलाको कारण भने होइन । यसरी मानिसको जमघट हुनुको एउटै कारण हो जुम्लीको उत्पादन । जुम्लाको सिञ्जा गाउँपालिका–४ नाराकोटका ६३ वर्षीय कालिबहादुर बुढाले चलाएको मौसमी फुटपाथे व्यापारले वकिल र कर्मचारीलाई खुबै आकर्षित गरेको छ ।
एउटै स्वीटरको पाँच हजारसम्म पर्दा पनि उहाँले बनाएको स्वीटर किन्न तँछाडमछाड नै हुन्छ । पहिल्यै अडर नदिए किन्नै पाईदैन ।
हरेक वर्ष जुम्लाको जाडो छल्न काठमाडौँ छिरेका कालिबहादुर त्यही मेसोमा र कमाई गर्न स्थानीय उत्पादन लिएर आउनुहुन्छ । उहाँका लागि जाडोयामका तीन महिना चिसो भगाउने र पैसा कमाउने समय हो ।
स्वीटर बुन्दै कालिबहादुर बुढा ।
“हिँउदमा गाउँमा कामधन्दा छैन, के गर्नु, खानु त पर्यो नै, त्यसैले जाडो छल्न जुम्लाको जडिवुटी, ऊन, लत्ताकपडा ल्याइकन आउँछौँ, बुढाले स्वीरट बुन्दै भन्नुभयो ।
काका र भाइसँगै चाबहिलमा बस्ने कालिबहादुर यसपाली काठमाडौँ छिरेको १२ दिन मात्रै भएको छ । ल्याएको सामान बेचेर फागुन या चैतमा उहाँ फेरि जुम्ला फर्कनुहुन्छ ।
“ग्राहक राम्रा मिल्या भन्या हामीसँग टन्नै चिज छ, यो चिज राम्रोसँग कट्यो भन्या दुई÷चार लाख लिएर जान्या हो’, उहाँले थप्नुभयो ।
उहाँका अनुसार सामान विक्री भएको समयमा रु दुई लाख देखि पाँच लाख सम्म कारोबार भएको छ । यसरी उहाँले हिँउदमा उपत्यका छिरेर व्यापार गर्न थालेको ६ वर्ष नाघ्यो । “हामीसँग राम्रो चिज छ जे छ जुम्लामा उत्पादन भएको असली चिज छ”, उहाँले दावी गर्दै भन्नुभयो, “जसले गर्दा यहाँका मान्छेले विश्वास गर्छन ।”
उहाँले भेडाको ऊनको स्वीटर, जडिबुटी, अल्लोका लुगा बेच्नुहुन्छ । भेडाको ऊनको स्वीटरका लागि बढी अर्डर आउँछन् । गएको १२ दिनमा ६ वटा स्वीटर बिक्री गरिसक्नु भएको छ उँहाले ।
आफ्नो कमाइ सुनाउँदै भन्नुभयो, “बाउला भएको बाक्लो स्वीटर एक चार हजारमा बेचेँ, अर्काे तीन हजारको, दुई स्वीटर र १६÷१६ सयका बेचेँ अर्को १८ सय र एक २२ सयमा बेचे ।” भेडाको ऊन भएकाले स्वीटरका लागि धेरै अर्डर आउने उहाँ बताउनु हुन्छ ।
उहाँले माग अनुसारका हातैले बुनेर १२ सयदेखि पाँच हजार सम्मका स्वीटर तयार गर्नुहुन्छ । स्वीटरको ऊन पनि उहाँ आफैँले तयार गर्नुहुन्छ । “पहिले भेडाको रौँ साँचोले कोर्नु पर्यो, त्यसलाई धुनु पर्छ, अनि तानमा कात्नु पर्यो, दुई सर्या, चार सर्या बनाएर यो स्वीटर बनाउने हो”, उहाँले ऊन बनाउने विधि सुनाउनुभयो । जुम्लामा उहाँका पाँच सय भेडा छन् । त्यो पनि अरुका तुलनामा कम हुन् । अरुका भेडी गोठमा हजारमाथि भेडा हुन्छन् ।
उहाँसँग भेडाको ऊनको स्वीटरमात्रै छैन । साथमा जडिबुटीमा सिलाजित, हिङ, केसर, विरे नुन, बाझिफल, बोझो, ठूलो ओखती पछि छ । पुराना पैसा तथा जरिकोट, अल्लाका टोपी पनि एक साथ विक्रीमा छ ।
उहाँका ग्राहक भनेका यहाँका वकिल, कर्मचारी हुन् । जुम्लाको भाइको सामान राम्रो हुन्छ भनेर धेरैले सामान किन्ने गरेको उहाँले सुनाउनुभयो । हिउँदे कमाई लिएर उहाँ अब चैततिर आफ्नो घर फर्कनु हुन्छ । त्यसपछि जुम्ला गएर खेतीपातीको काम सुरु हुन्छ । जौ, गहुँ, कोदो, मकै, भट्ट, धान सब खेती हुन्छ ।
उहाँका छोराबुहारी भने चाउमिन फ्याक्ट्रीमा काम गर्छन् । उहाँको सुर्खेतमा पनि घर छ । श्रीमती नाति–नातिनी र छोरीसँग सुर्खेत कै घरमा बस्नुहुन्छ । छोरा÷छोरीले पुर्खेउली पेशामा ध्यान नदिएकोमा उहाँ चिन्तित हुनुहुन्छ । “आफ्नो बाबुबाजेले गर्याको काम क्यान छाड्न्या हो भनेर गरिरह्याको हो ।’ उहाँले भन्नुभयो । छोराले नसिके पनि आफुले भने सास रहुन्जेल पुख्र्यौली पेशा नछोड्ने कालिबहादुरको अठोट छ ।