८ मंसिर, २०८१ शनिबार

07:52:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० वर्ष विदेश बसेका प्रेम गुरुङको ‘घैंटे चिया’ ब्राण्ड (भिडियोसहित)

२५ चैत, २०७८

घैंटे चियाले मासिक १५ देखि २० लाखको कारोबार गर्ने

२० वर्ष विदेश बसेका प्रेम गुरुङको ‘घैंटे चिया’ ब्राण्ड (भिडियोसहित)

काठमाण्डौं । ताप्लेजुङका प्रेम गुरुङ वि.स २०४८ सालमा विदेश जान्छु भन्दै काठमाण्डौं आईपुग्नुभयो । २० वर्ष पनि नकटेका प्रेम साउदी जाने तरखरमा लाग्नुभयो । तर प्रेमले कोरिया पनि जान मिल्ने थाहा पाएपछि कोरियातिर लाग्नुभयो । 

गाउँघरको जस्तो सजिलो थिएन विदेशमा काम गर्न । बिरानो देश, बिराना मान्छे, भाषाका छुट्टै समस्या, एक्लोपन र मालिकको गालीले प्रेमलाई आफ्नाको न्यास्रो लाग्थ्यो ।

परिवारको झलझली सम्झना आउँथ्यो । परिवारकै खुसीका लागि कोरिया आएको भन्ने कुराले आफ्नो चित्त बुझाउनु प्रेमका लागि बाध्यता थियो । 
प्रेमले यसरी चित्त बुझाउदै काम गर्दै कोरियामा १५ वर्ष बिताउनुभयो । 

उहाँ कोरियामा काम गर्दा–गर्दै नेपालमा आमाको मृत्यु भएको खबर पाउनुभयो ।

आमाको मृत्युको खबरले प्रेमका आखाँ अघी कालो बादल छायो । निकै असह्यै भयो । डाको छाडेर निकै रोए, कराए प्रेम । तर उहाँको आवाज न ताप्लेजुङ पुग्यो न आमाको कानमा । आमालाई अन्तिम पल्ट हेर्ने चाहाना पुरा भएन । 

घर आउने बिदा त कम्पनी के दिन्थ्यो, आमाको मृत्यु भएको दिनपनि कामबाट बिदा मिलेन । आमाको मृत्युको पिडा र गहभरी आँशु बोक्दै प्रेमले काम गरिरहनुभयो । 

छोरो घर आउन नपाएपछि प्रमेका बुबाले नै आमाको दागबत्ती गर्नुभयो ।

यो कुराले प्रमेलाई निकै पिरोलिरह्यो । उहाँले आमालाई नदेखेको पनि १५ वर्ष भइसकेको थियो।

आमासँगको अन्तिम भेटलाई सम्झदै उहाँले मलिन् स्वरमा भन्नुभयो, ‘ताप्लेजुङ छाड्दा आमाले मलाई आर्शिवाद दिनुभएको थियो । त्यो नै हाम्रो अन्तिम भेट हो ।’ 

आमाको मृत्युपछि कोरियामा उहाँलाई नरमाइलो लाग्न थाल्यो । परिवारका सुखका लागि मात्र कोरिया बस्नुभयो । उहाँका तीन बहिनी हुनुहुन्छ । तीन बहिनीका एक्ला दाजु प्रेम ।

सबैको जिम्मेवारी उहाँकै काधमा । जसका कारणले कोरियामा प्रेमले दुई दशक बिताउनुभयो । २० वर्षमा जानुभएका प्रेम कोरियाबाट ४० वर्षमा फर्कनुभयो। 

दुई दशक कोरिया बस्दा उहाँले त्यहाँबाट समयको महत्व, अनुशासन र परिश्रम गर्न सिक्नुभयो । ‘मेहनत, परिश्रम र अनुशासनकोरिया नागरिकको गहना नै हो’, उहाँले भन्नुभयो। कोरियामा सिकेको अनुशासन र परिश्रमलाई प्रेमले नेपालमा लागु गर्ने सोच बनाउनुभयो । 

तर के गर्ने ?....

भाषा नजान्दा विदेशमा आफूले खेपेको समस्या अरु श्रमिकले भोग्न नपरोस भन्ने उद्देश्यले सन् २०११ मा ‘कोरियन भाषा प्रशिक्षण केन्द्र शिन्ह्वा’ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

अहिले ‘शिन्ह्वा’मा सयौँ विद्यार्थीहरु भाषा सिक्छन् या भनौँ वैदेशिक रोजगारका लागि तयारी गर्छन् । तर विद्यार्थीहरुलाई विदेश गएपनि फर्केपछि अरुलाई रोजगार दिने काम गर्नुपर्ने सुझाव दिने उहाँ बताउनहुन्छ ।

यससँगै उहाँले होटल तथा रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याउनुभयो । तर सफल भएन । यी व्यवसाय सफल भएन भनेर उहाँले कहिले हार मान्नु भएन । निरन्तर परिश्रम गर्नुभयो । जो कोरियाबाट सिक्नुभएको थियो । 

उहाँले व्यवसाय के कारणले सफल भएन ? कस्तो व्यवसायगर्दा सफल भइन्छ भन्नेतर्फ अनुसन्धान गर्न थाल्नुभयो । झण्डै २ वर्षको तयारीपछि उहाँले वि.स. २०७५ सालमा ‘घैंटे चिया’ लाई जन्म दिनुभयो । 

‘घैंटे चिया’को जन्मले उहाँलाई नयाँ जीवन दियो । सुरुमा उहाँले बागबजारमा ‘घैंटे चिया’को सुरुवात गर्नुभयो । ‘५०/६० लाखको लागतमा घैंटे चिया सञ्चालनमा ल्यायौँ’, उहाँले भन्नुभयो, ‘अहिले ललितपुरको खरीबोट, मिनभवनमा यसका शाखा छन् ।’

‘घैंटे’ नाम नै किन?

ताप्लेजुङमा घैंटोमा पानी राखेर पिउने चलन थियो । उहाँको घरमा पनि । बाल्यकालमा घैंटोको पानी खुब पिउनुभयो । त्यसको छुटै स्वाद अझै उहाँको जिब्रोमा छ । आफूले लिएको स्वाद अरुलाई दिन उहाँले चियाको नाम ‘घैंटे’ राख्नुभयो । 

‘खास घैंटो हो तर यसलाई आफुले अलि मोडिफाइ गरेर घैंटे बनाएँ’, उहाँले भन्नुभयो, ‘यो नाम मात्र होइन । हाम्रो मौलिक भाषा हो । आफ्नो मौलिक भाषालाई हामीले प्राथमिकता दिनुपर्छ । जस्तो कोरियामा हरेक कुरा आफ्नो भाषामा हुन्छ । चाहे त्यो होटलको नाम होस या अन्तिराष्ट्रिय स्तरमा मन्त्रीले गर्ने भाषण सबै आफ्नो भाषामा हुन्छ । हामीले आफ्नो भाषा प्रयोग गर्न लाज मान्नुहुन्न’, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो मौलिक नामबाटै व्यवसाय सुरु गर्नुभयो । चियाको नामसँगै त्यसको स्वाद पनि जरुरी थियो । चिया त जताततै पाइन्छ । ‘फरक स्वाद दिनुपर्छ’, उहाँलाई लाग्यो । 

फरक स्वादका लागि प्रेम फेरी बाल्यकालकै सम्झनामा जानुभयो । बाल्यकालमा उहाँले दूध  ताएको भाँडाको कुराउनी खानुभएको थियो, त्यो पनि डढेको। त्यो स्वादउ उहाँलाई औधी मन पर्ने । त्यहि स्वाद चियाका रुपमा उहाँले पस्कने जमर्को गर्नुभयो । 

अहिले त्यो स्वाद चिया पारखीका जिब्रोमा बसिसकेको छ । यति छिटो नामसँगै स्वाद पनि ग्राहकहरुको मुखमा झुन्डिने उहाँले सोच्नुभएको थिएन । उहाँले भन्नुभयो, ‘चियामाप्रयोग हुने मसला पनि ताप्लेजुङबाटै ल्याउछु।’

बागबजारमा उहाँले आफ्नो मामा–ससुरासँगमिलेर व्यवसाय सुरु गरे पनि लाखौँको लगानीमा ललितपुरको एकान्तकुनामा भने एकल रुपमा सञ्चालनमा ल्याउनुभयो । त्यहाँ पनि घैंटे चिया पिउनेको घुँइचो नै लाग्छ ।

चियापारखीहरुका लागि घैंटे चिया बिहान ७ बजेदेखि राती १० बजेसम्म खुल्ने उहाँले बताउनुभयो । यस अवधिमा सैयौँ कप ‘घैंटे चिया’ बिक्रि हुने गर्छ । ‘बागबजारमा करिब १५० कप, एकान्तकुनामा २५० कप र मानभवनमा १५० कप चिया बिक्रि हुन्छ’, उहाँले भन्नुभयो ।

यसरी सयौँ कप बिक्रि हुने चिया बनाउन करिब ३ घण्टा लाग्छ । एक चोटी बनाइसकेको चिया दोस्रो पटक बनाउन मिल्दैन । धेरै समय लाग्ने भएकाले चिया ५ बजे बिहानै तयार गरिन्छ । एक कप चियाको मूल्य ५० रुपैयाँ पर्छ ।

चियासँगै नेपाली, कोरियन र चाइनिज परिकार पाइने ‘घैंटे चियाले मासिक १५ देखि २० लाखको कारोबार गर्ने उहाँ बताउनुहुन्छ । लाखौँको कारोबार हुने ‘घैंटे चिया’ले ३० जनालाई रोजगारी दिएको छ ।

उहाँले अझ धेरैलाई रोजगारी दिने योजना बनाउनुभएको छ । उहाँले विस्तारै देश तथा विदेशमा घैंटे चियालाई लैजाने तयारी भइरहेको बताउनुभयो । 
‘कोरियामा घैंटे चियालाई लैजाने तयारी भएको थियो’, उहाँले भन्नुभयो, ‘तर कोरोनाका कारणले रोकियो । अब छिट्टै काम पुरा हुन्छ ।’

नाफा कमाउनु सँगैरोजगारी सिर्जना गर्ने आफ्नो सोच भएको प्रेम बताउनुहुन्छ । ‘आर्थिक अभावकै कारण आफू परिवारबाट टाढा भए । म जस्तै अरु परिवारबाट अलग नहुन् भन्ने मेरो सोच हो’, उहाँले आफ्नो विगत सम्झदै भन्नुभयो, ‘विदेश गएर आफ्ना प्रिय मान्छे गुमाउदा पनि आउन सकिदैन । त्यो अरुले नभोगुन् । विदेश जानेले पनि नेपाल फर्केर केहि गर्छु र अरुलाई रोजगार दिन्छु भन्ने सोच बनाएर जानुस् भन्छु ।’

खाली हात कोरिया पुगेका प्रेम अहिले थोरैलाई भएपनि रोजगारी दिन सकेकोमा खुसी हुनुहुन्छ । आफ्नै देशमा बेरोजगारलाई रोजगार दिँदै परिवारसँग बस्न पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ । यस खुसीमा प्रेम आफ्नी आमालाई खोज्नुहुन्छ । ‘आमा हामीसँग नभएपनि उहाँको आर्शिवाद सधै हामीसँग छ’, प्रेम भन्नुहुन्छ । 

प्रेमको जीवन पनि गायक हेमन्त रानाको ‘सुन साईली साईली परदेशबाट म आउँला, सुन साईली साईलीचालिस् कटेसी रमाउला’ गीतसँग मेल खान्छ । प्रेम पनि स्वदेशमा ४० कटेसी रमाइरहनुभएको छ ।