१७ बैशाख, २०८१ सोमबार

11:58:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार जनामा हैजाको पुष्टिः सतर्कता अपनाउन अनुरोध

Nepal Business

८ असार, २०७९

काठमाडौँ हैजाको जोखिममा रहेको देखियो ।

चार जनामा हैजाको पुष्टिः सतर्कता अपनाउन अनुरोध

काठमाण्डौं । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । पुष्टि भएका चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।

  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो । 

उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । 

बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । 

विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र  लक्षण भएका हैजाका विरामी खोजिरहेको बताउनुभयो । वागबजारका दुई जना १८ र २३ बर्षिय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक÷एकमा मंगलबार देखिएको हो ।

 जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताउनुभयो । उहाँले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर  राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उहाँले पानीको कारणले हैजा भएको आफूले  शंका गरेपनि  परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताउनुभयो ।

हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ,  स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।

एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ ।

उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागेको थियो । 

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ ।

कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी, महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उहाँले बताउनुभयो । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ । 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । 

 मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।