१८ बैशाख, २०८१ मंगलबार

01:30:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विपन्नलाई निःशुल्क रगत, कहिलेदेखि हुन्छ लागु ?

Nepal Business

३ असार, २०७९

विपन्नलाई निःशुल्क रगत, कहिलेदेखि हुन्छ लागु ?

काठमाण्डौं । बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि  सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता संघ–संस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको छ । 

काठमाण्डौंस्थित कान्ति बाल अस्पताल महाराजगञ्ज र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले यही असार १ गतेदेखि  निःशुल्क रगत सेवा पाउने भएको छन् । यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौंँबीच सम्झौता भएको छ ।

सो सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गर्नुभएको थियो । यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ । 

यसअघि काठमाण्डौंको वीरअस्पताल र टोखा चन्डेश्वरी अस्पतालमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले गत चैतदेखि निःशुल्क रगत सेवा पाउने गरी केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौंबीच सम्झौता भएको थियो । 

काठमाण्डौंका अन्य सरकारी अस्पतालमा पनि यो सेवा विस्तार गर्न पहल भइरहेको छ । बागमती प्रदेशको अरू जिल्लामा पनि यस्तै खालको सम्झौता हुन लागेका विभागका निर्देशक पौडेलले जानकारी दिनुभयो ।

यसअघि कीर्तिपुर र टोखा नगरपालिकाका बासिन्दालाई निःशुल्क रक्तसेवा उपलब्ध गराउन पालिका र रेडक्रसबीच सम्झौता भइसकेको उहाँले बताउनुभयो ।  गण्डकी प्रदेशमा प्रदेश सरकारको आर्थिक सहयोगमा गत फागुन १ गतेदेखि  रेडक्रसका निकायले निःशुल्क रक्तसेवा सुरु गरिसकेका छन् ।

अन्य प्रदेशमा पनि विभिन्न पालिकाको आर्थिक सहयोगमा ती पालिका क्षेत्रमा निःशुल्क सेवा अभियान बढ्दै छ । यस अभियानलाई अघि बढाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, नेतृत्व र निकायमा आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा नेपाल रेडक्रसले गरेको छ ।