१७ बैशाख, २०८१ सोमबार

12:21:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनमा बैंक ब्याजदर २५ प्रतिशत, मुद्रास्फीति १७ प्रतिशत पुग्यो

Nepal Business

२३ जेठ, २०७९

युक्रेनको केन्द्रीय बैंकले यो वर्ष युक्रेनको मुद्रास्फीतिदर २० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

युक्रेनमा बैंक ब्याजदर २५ प्रतिशत,   मुद्रास्फीति १७ प्रतिशत पुग्यो

एजेन्सी । पछिल्लो समय युक्रेनमा बैंक ब्याजदर वृद्धिभएर २५ प्रतिशत पुगेको छ ।  युक्रेनको केन्द्रीय बैंक नेसनल बैंक अफ युक्रेनले ब्याजदर दोब्बरभन्दा बढीले बढाउँदै २५ प्रतिशत पुर्याएको छ । युक्रेनको वर्तमान ब्याजदर युरोपभरिमै उच्च हो ।

रुसको आक्रमणपश्चात निरन्तर वृद्धि भइरहेको मुद्रास्फीतिलाई रोक्न र मुद्राको मूल्यमा आइरहेको गिरावट थाम्न युक्रेनको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । युक्रेनमा युद्ध सुरु भएपछि व्यवसायहरु बन्द हुनुका साथै आपूर्ति शृंखलामा पनि अवरोध सिर्जना भएको छ ।

विश्व बैंकले यो वर्ष युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । युक्रेनमा मुद्रास्फीतिदर १७ प्रतिशत पुगेको छ । युक्रेनको केन्द्रीय बैंकले यो वर्ष युक्रेनको मुद्रास्फीतिदर २० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

युक्रेनको केन्द्रीय बैंकले १० प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको बेन्चमार्क ब्याजदरले जनताको बचतलाई बढ्दो मुद्रास्फीतिबाट बचाउन सहयोग गर्ने जनाएको छ । यसका साथै यो कदमले अर्थतन्त्रको दबाब कम गर्नुका साथै मुद्रालाई स्थिर राख्ने बैंकले जनाएको छ ।

रुसको आक्रमणपछि युक्रेनको मुद्रा रिभनिया ठूलो दबाबमा पर्नुका साथै मूल्यमा समेत भारी गिरावट आएको छ । युद्ध सुरुभएपश्चात युक्रेनले पहिलोपटक ब्याजदर वृद्धि गरेको हो ।

यससँगै बैंकले मुद्रास्फीति नियन्त्रणमा आएपछि ब्याजदर पुनः घटाउने संकेत गरेको छ। रुसी आक्रमणबाट युक्रेनको १०० बिलियन डलरबराबरको पुर्वाधारमा क्षति पुगेको छ ।

सैनिक रक्षालाई सुदृढ गर्न र युद्धका कारण जीविकोपार्जन गुमाएकाहरुलाई सहायता प्रदान गर्न युक्रेन सरकारले खर्च वृद्धिलाई तीव्र पारेको छ । जसका कारण मे महिनामा युक्रेनले बजेट घाटा २७ प्रतिशतले बढ्दै ७.७ बिलियन डलर पुगेको छ ।