८ मंसिर, २०८१ शनिबार
01:44:52 PM
११ जेठ, २०७९
महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाखको जीवन बीमा गरिने
चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बीमा कार्यक्रमको निर्णय गरिएको छ ।
पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो ।
दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताउनुभयो । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले बुधबारदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ ।
महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ हजार ग्राहक छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।
महानगरले बुधबार गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाखको जीवन बीमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बीमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।
राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक रु तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले रु एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।
पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ ।’ महानगरवासीलाई निरास हुन नदिने भन्दै उहाँले सबैको राय–सुझाव लिएर काम गर्ने बताउनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।’