२० बैशाख, २०८१ बिहिबार

05:55:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

Nepal Business

६ पुस, २०७८

‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

वाग्मती, ६ पुस । सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ । 

इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा चल्ने अवस्थामा सुधारका लागि प्रदेश सरकारले प्रयत्न गर्न लागेको हो ।

सङ्घीय राजधानीसमेत यसै प्रदेशमा रहेकाले नागरिकले सहज रुपमा सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङ बताउनुहुन्छ । सञ्चार रजिष्ट्रारको कार्यालयले आज यहाँ आयोजना गरेको ‘सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा बागमती प्रदेशको भूमिका सरोकारवालासँगको छलफलमा’ सचिव तामाङले प्रदेशवासीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ आफूहरुले तयारी गरिरहेको बताउनुभयो । उहाँले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ मन्त्रालयले योजना तयार पार्ने र त्यसलाई चरणबद्ध रुपमा लागू गरेर नागरिकलाई सहज सेवा प्रदान गर्ने विश्वास दिलाउनुभयो । प्रविधिको प्रयोग, विस्तार तथा लगानीका सन्दर्भमा संविधानमा सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्षेत्रका बारेमा स्पष्ट व्यवस्था नभए पनि प्रयास भने गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले प्रविधिको प्रयोगका सम्बन्धमा रहेको बुझाइका दायरालाई नै विस्तार गर्नुपर्ने बताउनुभयो । नागरिकलाई सेवा दिने भन्दा पनि काम गर्न खोज्नेलाई अल्झाउने प्रवृत्तिका कारण समस्या खडा भएको उहाँको भनाइ छ । सरकारले तीन वर्ष पहिले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अगाडि बढाएको भएपनि त्यो कार्यक्रम अपूरो रहेको तर्क गर्दै उहाँले भन्नुभयो, “आयातित कार्ययोजनाले काम गर्न सक्दैन । काम गर्ने हो भने नेपालको मौलिकताअनुसार सहज रुपमा सेवा दिने गरी काम गर्नुपर्छ ।”

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले नागरिकले सहज रुपमा सेवा पाउने गरी सूचना र प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताउनुभयो ।
अन्य सामान्य काम कारबाही गर्न बजेट उपलब्ध हुने भए पनि सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न सधैँ बजेटको अभाव देखाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने उहाँको भनाइ छ । बागमती प्रदेशबाट केही नयाँ गरौ भन्ने सोचका साथ छलफल आयोजना गरेकामा सञ्चार रजिष्ट्रार कार्यालयलाई धन्यवाद दिँदै उहाँले लगानीको विस्तार गरेरै भए पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि वातावरण तयार गर्ने र सरकारी निकायको ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । डिजिटल बागमती बनाउन सबैको साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ । रासस