२० बैशाख, २०८१ बिहिबार

11:08:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्र निजी कम्पनीमार्फत कर्णालीमा चामल ढुवानी

Nepal Business

१ पुस, २०७८

सत्र निजी कम्पनीमार्फत कर्णालीमा चामल ढुवानी

कर्णाली, १ पुस । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सात जिल्लामा चामल ढुवानी गर्न विभिन्न १७ निजी कम्पनीसँग सम्झौता गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८र७९ का लागि खाद्यान्न ढुवानी गर्न सार्वजनिक खरिद ऐनबमोजिम न्यून कबोल अङ्कमा प्रस्ताव पेश गर्ने ती ढुवानीकर्तासँग सम्झौता गरेको हो । 

वार्षिक कार्ययोजनामा दसैँ अगावै ढुवानी सम्झौता गर्नुपर्ने भए पनि सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गर्दा समय लम्बिएको खाद्य कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले ढुवानीकर्ताले न्यून मूल्यमा ठेक्का पार्ने र आफू अनुकूलको समयमा ढुवानी गर्ने गरेका कारण हिमाली तथा उच्च पहाडी जिल्लामा समयमै चामल ढुवानी हुन नसकेको बताउनुभयो । 

यसपटक खाद्य अभावको संवेदनशीलतालाई ख्याल गरेर सम्बन्धित डिपोमा चामल पु¥याउन ढुवानीकर्तालाई कडाइ गरिएको उहाँको भनाइ छ । खाद्यान्न ढुवानी गर्न ढुवानीकर्तालाई सबैभन्दा कम दैलेखमा तीन दिन र सबैभन्दा बढी हुम्लामा ३० दिनको बाटो म्याद दिइएको छ । 

कर्णालीका सात जिल्लामा ३३ डिपो तथा बिक्री केन्द्र छन् । सुर्खेतको प्रादेशिक गोदामबाट ती केन्द्रमा चामल ढुवानी गर्न बोलपत्र स्वीकृत भएका १७ मध्ये १५ ढुवानीकर्ता कम्पनीले काम थालिसकेको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार हवाई मार्गबाट ढुवानी गर्न सिम्रिक एअर कार्गो प्रालिसँग सम्झौता गरिएको छ भने बाँकीले स्थलमार्गबाट ढुवानी गर्दैछन् । 

खाद्य कम्पनीले कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, दैलेख र जाजरकोट जिल्लाका ३३ बिक्री केन्द्रबाट सहुलियत दरमा चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चालु आवमा ४० हजार ७०० क्विन्टल चामल ती जिल्लामा ढुवानी गर्नुपर्नेछ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले हुम्लामा ३७ क्विन्टल हवाईमार्ग तथा १८० क्विन्टल स्थलमार्गबाट ढुवानी भइसकेको जनाएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख मिश्रले सुर्खेतमा विमानस्थल बन्द भएका कारण हाल नेपालगञ्जबाट हुम्लाको सिमकोटमा खाद्यान्न ढुवानी भइरहेको जानकारी दिनुभयो । 

खाद्यान्न सङ्कट बेहोर्दै आएको हुम्लामा हाल सिमकोट शाखाका साथै सर्केगाड, खार्पुनाथ, देउली, श्रीनगर, तुम्च बालुकुना, छप्रेला डिपोमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । कार्यालय प्रमुख मिश्रका अनुसार पहिलो चरणमा सिमकोट शाखा, श्रीनगर र खार्पुनाथ तथा दोस्रो चरणमा सर्केगाड, देउली, छपे्रला र तुम्च बालुकुना केन्द्रका लागि ढुवानी सम्झौता भएको हो । 

खाद्य कम्पनीले चालु आवमा हुम्लामा ११ हजार ७००, मुगुमा १० हजार २५०, जुम्लामा तीन हजार, डोल्पामा आठ हजार २५०, कालीकोटमा दुई हजार ८००, दैलेखमा दुई हजार र जाजरकोटमा दुई हजार ७०० क्विन्टल चामल ढुवानी गर्नेछ । गत आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रादेशिक कार्यालयबाट कर्णालीका सुर्खेतबाहेक नौ जिल्लामा एक लाख पाँच हजार ५२६ क्विन्टल चामल बिक्री वितरण गरेको थियो । रासस