८ मंसिर, २०८१ शनिबार

07:24:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

Nepal Business

२९ मंसिर, २०७८

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

मेलम्ची, २९ मंसिर । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो ।  

अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो  । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भर्खर आयोजनाका संरचना मर्मत गरेर सञ्चालन गर्न मात्रै सडक खोलिएको हो ।”

आयोजनाका लागि र स्थानीयवासीका लागि पनि सडक दीर्घकालीन रुपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ । अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रुपमा सडक र पुल निर्माणमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रको अध्ययन सकिएपछि हामीले अर्को वर्षा पहिले नै स्थायी निर्माणमा जानुपर्छ ।”

अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुङ्गो लाग्ने सूचना अधिकारी पन्तले बताउनुभयो । दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउनसक्ने देखिएको छ । अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल हामीले आयोजनाका लागि ठूलो खर्च नगरेर अस्थायी रुपबाट पानी ल्याउन काम गरेका छौँ ।” 

सो सडक आयोजनास्थलमा पुग्नका लागि मात्रै नभएर स्थानीयबासीका लागि पनि आवश्यक छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो । कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो । मङ्सिरको पहिलो साता आएको बाढीले थप क्षति पु¥याएको सडक तत्कालका लागि खुलाइएको छ । 

रासस