२३ बैशाख, २०८१ आइतबार

01:14:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काभ्रेपलाञ्चोकको रोशीदेखि हेटौंडासम्म जोड्ने सडकलाई ५० करोड

२७ फागुन, २०७८

प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र २ अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

काभ्रेपलाञ्चोकको रोशीदेखि हेटौंडासम्म जोड्ने सडकलाई ५० करोड

 काठमाण्डौं

बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका ५० करोड छुट्याउने निर्णय गरेको छ । 

प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र २ अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ ।

६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । 

उहाँका अनुसार थप २ अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ । 

काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारी अवस्थित डाँडापारी क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय जनप्रतिनिधि लगायत आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ ।

प्रदेशस्थित युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै  ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताउनुभयो । यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ, उहाँले भन्नुभयो । 

उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारी अवस्थित डाँडापारी क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय जनप्रतिनिधिलगायत आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ ।

जिम्वाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ । यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सकडसँगै बागमती खोलामा निर्माणाधीन १ सय ६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गर्नुभएको थियो । ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ । 

पुल पाँच वर्षअघि निर्माण सुरु भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटन दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटौंडा जान निकै सजिलो हुन्छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ ।