१५ बैशाख, २०८१ शनिबार

07:14:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फाप्ला सरकारको ‘ड्रिम प्रोजेक्ट’

१५ फागुन, २०७८

१५ अर्ब लागतमा निर्माण हुने फाप्ला मैदानलाई देशकै ठुलो खेलग्रामका रूपमा विकास गरिने

फाप्ला सरकारको ‘ड्रिम प्रोजेक्ट’

काठमाण्डौं

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउनु भएको छ । कैलालीको धनगढी पुग्नुभएका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताउनु भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिनुभयो ।

हालै मात्र मन्त्रिपरिषदको बैठकबाट मैदान निर्माणका लागि स्वीकृति प्राप्त भएको बताउदै मन्त्री अथकले १५ अर्ब रकम लागत अनुमान गरिएको समेत जानकारी दिनुभयो ।

भौगोलिक उपलब्धता प्रयाप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउदै मन्त्री अथकले भन्नुभयो, ‘जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठुलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ ।’ क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पुर्वाधारहरू समेत निर्माण गरिने उहाँले प्रष्ट पार्नुभयो ।

बहुवर्षिय योजनाको मोडालिटीमा निर्माण गर्ने भनिएको फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानिय सरकारका साथै नीजि क्षेत्रको समेत लगानी समेटिने बताउदै मन्त्री अथकले ३ वर्षभित्रै मैदान निर्माण सम्पन्न गर्न स्थानियस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । 

यस्तै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘राज्य विशेषगरी सिंहदरबारले खेलकुदलाई उनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छ’, खेलप्रति राज्यको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री अथकले भन्नुभयो, ‘यसप्रकारको दृष्टिकोणलाई बदल्नु नै अहिलेको प्रमुख चुनौती बनेको छ।’ 

यसैगरी मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।

अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।