९ मंसिर, २०८१ आइतबार

03:56:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुस युक्रेन द्धन्द्धले नेपाललाई कस्तो प्रभाव पार्छ ?

१५ फागुन, २०७८

युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने

रुस युक्रेन द्धन्द्धले नेपाललाई कस्तो प्रभाव पार्छ ?

काठमाण्डौं । 
युक्रेन र रुसबीच भइरहेको द्धन्द्ध रोकिने अवस्थामा देखिँदैन । यसले दुई देशको अर्थतन्त्रमा प्रभाव त पर्ने नै भयो, त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर नेपालमा पनि  देखिन थालेको विज्ञहरु बताउनुहुन्छ । अर्थविद डा.गोविन्द नेपालले युक्रेन र रुसको द्धन्द्धले नेपाललाई पत्यक्ष प्रभाव पार्ने बताउनुहुन्छ । किनभने नेपालको रुस र युक्रेनसँग व्यापारिक सम्बन्ध छ।

गत आर्थिक वर्षमा नेपाललाई युक्रेनले सबैभन्दा धेरै वस्तु विक्रि गरेको थियो । यसैगरी विश्वभरको अवस्था हेर्दा गत आर्थिक वर्षमा युक्रेन सबैभन्दा धेरै वस्तु विक्रि गर्ने मुलुकको छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठौं स्थानमा छ । 

युक्रेनबाट औद्योगिक क्षेत्रका लागि चाहिने कच्चा पदार्थ आयात हुन्छ । व्यवसायीहरुका अनुसार त्यसको असर बजारमा देखिन थालिसकेको छ । उहाँहरुका अनुसार बजारमा धेरै कच्चा पदार्थको मूल्य वृद्धि भइरहेको छ । युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने अर्थविद् नेपाल बताउनुहुन्छ । 

नेपालले युक्रेनबाट चालु आर्थिक वर्षको पहिलो ७ महिनामा (साउन–माघ) नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा युक्रेनबाट करिब १७ अर्ब १७ करोड रुपैयाँको सामग्री आयात भएको भन्सार विभागको तथ्यांकमा छ । 

युक्रेनबाट खाने तेल, केराउ, टेलिफोन र मोवाइलका उपकरण र तयारी कपडा लगायतका सामाग्री नेपालले आयात गर्छ । नेपालबाट भने कार्पेट, चिया र चित्रकला युक्रेन निर्यात भएको भन्सार विभागले जनाएको छ ।


 अर्थविद् नेपालले भन्नुभयो, दुई देशमा द्धन्द्ध भएपछि उत्पादनमा ह्रास आउँछ । उत्पादन नभएपछि कसरी अन्य देशमा पठाइन्छ । जसका कारणले दुवै देशले निर्यात गर्ने देशमा असर देखिन्छ । स्वतः नेपालमा पनि देखिन्छ ।

यस्तै गत आर्थिक वर्षमा नेपालले रुसबाट २ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रकम बराबरको वस्तु आयात गरेको थियो। अर्थविद नेपालका अनुसार नेपालमा रुसको धेरै लगानी नभएकाले रुसका कारणले नेपालको अर्थतन्त्रमा त्यति प्रभाव पर्दैन । नेपालमा रुसको प्रत्यक्ष लगानी करिब ११ देखि १२ करोडको हाराहारीमा रहेको अर्थतविद् नेपाल बताउनुहुन्छ ।

तर रुस विश्वबजारमा ठूलो परिमाणमा तेल र ग्याँस कारोबार गर्ने राष्ट्र भएकाले द्धन्द्धको असर तेल तथा ग्याँसको मूल्यमा पर्ने उहाँले बताउनुभयो । यसका लागि नेपाल सरकार तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ । नेपाल आयल निगम घाटामा गइरहेका बेला तेलको मूल्य बढ्दा थप समस्या उत्पन्न हुने उहाँले बताउनुभयो ।

अब पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जानुपर्छ, उहाँले भन्नुभयो, यसको विकल्प खोज्न जरुरी छ । सरकारले पनि विद्युतीय गाडी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । उर्जामा बढि केन्द्रित हुने बेला आएको छ । 

उहाँले नेपाल रेमिट्यान्समा निर्भर भएको देश भएकाले त्यसमा पनि प्रभाव पर्ने देखिन्छ र वैदेशिक सहायतामा पनि ठूलो असर गर्ने उहाँ बताउनुहुन्छ ।