१६ चैत, २०८० शुक्रबार

12:18:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै

९ फागुन, २०७८

सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै

काठमाण्डौं

प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद (प्रोभिजन अन्टरपिरसिप डाइगल) हुने भएको छ ।  परिसंवादमा व्यवसायका प्राथमिकता र क्षेत्रहरु पछिल्लो समय उद्यम÷व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्रबीचको उच्चस्तरको परिसंवाद आयोजना हुन लागेको हो

कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी सरकार, निजि क्षेत्रसहितका साझेदार निकायको संयुक्त संवादबाट आर्थिक पुनःउत्थानको मोडेल र विषयहरु घोषण पत्रमार्फत सार्वजनिक गर्न र कार्यान्वयनका लागि निरन्तर लविङ् गर्नका लागि परिसंवाद आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी विष्णु अग्रवालले जानकारी दिनुभयो । 

सोमबार नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा प्रादेशिक उद्यमशिलता परिसंवाद आयोजना गर्नका लागि नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुत गरिने परिसंघका अध्यक्ष अग्रवालले बताउनुभयो । 

यस्तै विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले अहिलको आवश्यकता भनेको प्रदेश तथा स्थानिय तहका उद्यमीहरुको प्रर्वद्धन गर्नु रहेको र यो परिसंवादले निश्चय पनि प्रादेशिक स्तरमा उद्यमशिलता प्रर्वद्धन गर्न र युवा जमातलाई उद्यशिलतामा एकिकृत गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । 

यो परिसंवादबाट उद्योगी व्यवासायीहरुको समस्या र चुनौतीलाई पहिचान गर्दै तीनै तहका सरकारले साना, घरेलु, मझौला तथा ठुला उद्योगी व्यवसायी कसरी सम्बोधन गरेका छन र आगामी नीति तथा योजनाहरुलाई कसरी उद्योगी व्यवसायी मैत्री बनाउने भनि सरकारलाई सुझाव दिने उद्देश्य सहित यो परिसंवाद आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

विशाल फाउन्डेसका कार्यकारी निर्देशक विशाल गैरेले सम्बन्धीत प्रदेश सरकारको समेत आयोजना हुने उद्यमशिलता परिसंवाद चैत्र मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको र परिसंवादमा भौतिक रुपमा २५० जना र २ हजारभन्दा बढि सरोकारवालाहरु (जुमरफेसबुक लाइभ ) मार्फत सहभागी हुने जानकारी दिनुभयो ।

परिसंवादमा प्रदेश भित्र कोभिडपछिको अर्थतन्त्र, आर्थिक पुनःउत्थानको रोडम्याप, डिजीटल अर्थतन्त्र र डिजिटल नेपाल फ्रमेवर्क, स्टार्टअप उद्यमका अवसर, महिला उद्यमशिलता, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा नेपालको सम्भावना, दिगो विकासका लक्ष्य प्राप्ती लगायतका ५ देखि ७ वटा सेसनहरु रहने छन् ।

परिसंवादमा संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेशका आर्थिक मामिला र उद्योगमन्त्री, सचिव र योजना आयोगका उपाध्यक्षहरु, निजि क्षेत्रका वरिष्ठ उद्यमीहरु सहभागी हुने भएकाले प्रादेशिक संरचना भित्र व्यवसाय विस्तार गर्न चाहनेका लागि यो सम्मेलन उपलब्धी मुलक रहने नेपाल उद्योग परिसंघले जनाएको छ । प्रादेशिक उद्यमशीलता परिसंवाद आयोजनाको नेपाल बिजनेश मिडिया पार्टनर रहेको छ ।