८ मंसिर, २०८१ शनिबार
03:57:29 PM
८ फागुन, २०७८
विश्वमै चर्चित कम्पनी एप्पलमा मालिक टिम कुकले लिने तलबलाई लिएर असन्तुष्टि बढेको छ । बीबीसीका अनुसार लगानीकर्ताहरुले उहाँले गत वर्ष पाएको ९ करोड ९० लाख अमेरिकी डलर तलबको विपक्षमा मतदान गरेका हुन् ।
इन्स्टिच्युसनल सेयरहोल्डर सर्भिसेज (आईएसएस)ले त्यसअघिको वर्षमा १ करोड ४८ लाख डलर दिइँदै आएकोमा एकैचोटि ९ करोड बढी डलर पु¥याइएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो । कुकसँग १ अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ति छ । उहाँले तलबबापत नै सेयर पाउनु भएको थियो । सेयर सदस्यहरुलाई आईएसएसले पठाएको पत्रमा त्यसलाई लिएर गम्भीर ध्यानाकर्षण जनाइएको छ । उहाँलाई दिइएकोमध्ये आधा त प्रस्तुतिको मापदण्डभन्दा बाहिर रहेको उल्लेख गरिएको छ ।
६१ वर्षीय कुकले बेलाबखत आफैँ समानता र मानवअधिकारका रुपमा सार्वजनिक अभिव्यक्ति दिने गरेको पाइन्छ । उहाँले सन् २०१५ मा एकपटक त आफू मर्नुअघि नै सबैजसो सम्पत्ति त्याग्ने समेत बताउनु भएको थियो । आईएसएसका अनुसार कुकको उक्त तलब सुविधा औसत एप्पल कर्मचारीको तलबभन्दा १ हजार ४ सय ४७ गुणा धेरै हो । उहाँले पाएको तलब प्याकेजमा ६ लाख ३० हजार छ सय अमेरिकी डलर व्यक्तिगत सुरक्षा खर्च र ७ लाख १२ हजार ५ सय डलर निजी विमान प्रयोगका लागि रहेको छ । आईएसएसले यस्तो खर्च ह्वात्तै बढेको बताएको छ ।
गत वर्ष अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी)मा बुझाइएको कागजातले कुकले ७४ लाख पाउन्डजति एप्पल सेयर च्यारिटीलाई दिएको देखाएको थियो । आईफोन, आईप्याड र म्याकबुक निर्माता गत जनवरीमा ३० खर्ब डलर मूल्यवान् कम्पनी बनेको थियो । पछि सेयर मूल्य खस्किएपछि अहिले यो २८ खर्ब डलरमा झरेको छ । सन् २०११ मा कुक नेतृत्वमा आएयता सेयर लगानीकर्ताको प्रतिफल समेत १ हजार प्रतिशतले वृद्धि भएको छ ।
मार्चमा कम्पनीले सेयरसदस्यहरुसँग वार्षिक बैठक गर्दै छ । यसका बाबजुद लगानीकर्ताको भोटलाई भने सल्लाहको रुपमा मात्र मानिन्छ । तलब सुविधालगायतमा एप्पलको सञ्चालक समितिले नै निर्णय गर्छ । गत वर्षको बैठकमा ९५ प्रतिशत सेयरलगानीकर्ताले एप्पलको कार्यकारी तलब कार्यक्रमलाई समर्थन गरेका थिए ।
पछिल्लो समय अमेरिका र बेलायतका कम्पनीहरुका सेयर लगानीकर्ताहरु तलब सुविधालाई लिएर विपक्षमा देखिएका छन् । जनरल इलेक्ट्रिक, आईबीएम, स्टारबक्सलगायतले सन् २०२१ मा कार्यकारीका लागि दिइएको तलब सुविधामा सेयर सदस्यले असन्तुष्टि जनाएका थिए ।