१९ मंसिर, २०८१ बुधबार
12:53:43 AM
७ फागुन, २०७८
काठमाण्डौ । अहिले नेपालमा एमसीसीको विरोध र समर्थनमा विभिन्न आन्दोलन र छलफलहरु भईरहेका छन् । नेपालीहरुले यस विषयमा बहस गर्नु, आन्दोलन गर्नु स्वभाविक हो । तर अहिले विश्व शक्ति राष्ट्रहरुपनि नेपालमा एमसीसी ल्याउनुपर्छ वा पर्देन भन्ने बारेमा आफ्ना धारणा राख्न थालेका छन् ।
नेपालमा शुक्रबार दिनभर बानेश्वर क्षेत्र एमसीसीको विरोधमा भएको आन्दोलनकारीहरुको उपस्थितीमा भरियो । यसैसमय अमेरीकी राजदूत ¥याण्डी वेरीले एमसीसीको बारेमा स्वतन्त्र रुपमा बहस गर्न अनुरोध गनुभयो । उँहाले आफुहरु हिंसाको पक्षमा नरहेको भन्दै यस विषयमा खुल्ला बसह गर्न अनुरोध गर्दै आफ्नो अफिसियल ट्वीटर एकाउन्टबाट ट्वीट गर्नुभयो ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’
यसैवेला एमसीसी अमेरीकाले नेपालमा लगाउन खोजेको बलजफतीपूर्ण कुटनीति रहेको भन्दै चीनको प्रतिक्रिया बाहिरियो । जसमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताउनुभएको छ ।
‘अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्छ,’ प्रवक्ता वेनबिङले भन्नुभएको छ, तर, यो नेपाली जनताको चाहना र राजनीतिक शर्त विना हुनुपर्छ ।
‘नेपालको असल छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई आफ्नो विकासपथ छनोट गर्न सहयोग जारी राख्छ र आफ्नो देशको हित अनुकूल निर्णय लिने र जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन छौं ।’
अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको बुझ्ने चेतावनी दिनुभएको थियो ।
अमेरीकी दवावका बीच नेपालमा अहिले एमसीसी बारे विभिन्न चरणमा आन्दोलन भईरहेका छन् । यस अघि चीनले यसबारेमा आधिकारीक रुपमा केही भनेको थिएन । तर शुक्रबार विदेश मन्त्रालयका प्रवक्ताले चीनको धारणा सार्वजनिक गर्दै अमेरीकाले नेपालमा एमसीसी पास गर्न आफ्नो देशलाई प्रयोग गर्न खोजेको बताउनुभएको छ ।
चीनले दिएको दवावका कारण एमसीसी पास भएन भन्ने बुझ्ने भन्ने धारणा प्रति चीनको आपत्ती रहेको उहाँले बताउनु भएको छ । एमसीसीबारे नेपालमा राजनीतिक दल र नेताहरुको मत बाझिएसंगै यो विषय झनै पेचिलो बन्दै गएको छ ।