२ मंसिर, २०८१ आइतबार
10:12:35 PM
२ फागुन, २०७८
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको कोभिड १९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनी संयोजक रहेको छानबिन समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको प्रतिवेदनको बारेमा सबै जानकारी मन्त्रीले नै सार्वजनिक गर्ने बताईएको छ । मन्त्रीले मंगलवार पत्रकार सम्मेलन गरि प्रतिवेदनमा उल्लेख भएका सबै विषयका बारेमा जानकारी गराउने कार्यक्रम तय भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो ।
यस विषयमा प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए । डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहनुभएको थियो ।