२१ बैशाख, २०८१ शुक्रबार

09:07:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२०७६ चैत्रदेखि हालसम्म २१ पटक मूल्य बृद्धि

१६ मंसिर, २०७८

सरकारले प्रतिलिटर ८३.४९ रुपैयाँमा किन्ने जनतालाई १३६ रुपैयाँ किन ? उच्च करको मारमा जनता

२०७६ चैत्रदेखि हालसम्म २१ पटक मूल्य बृद्धि

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग प्रतिलिटर पेट्रोल ८३.४९ रुपैयाँ र प्रतिलिटर डिजेल ८२.२१ पैसामा किनिरहेको छ । आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १६.१० रुपैयाँ र अन्तरराष्ट्रियतर्फ ७.८ रुपैयाँ कर लाग्छ । सरकारले खाना पकाउने एलपीजी ग्यासबाट पनि प्रतिसिलिन्डर २७८.८६ रुपैयाँ कर असुल्दै आएको छ । यही वर्षको कात्तिकको २४ गते मूल्य बढेसँगै अहिले पेट्रोलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । मंसिरसम्म आइपुग्दा पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३४ रुपैयाँ बढेको छ ।
नेपाल सरकारले पेट्रोलियम पदार्थ आयातमा उच्च भन्सारदर लिइरहेको छ । हाल प्रतिलिटर १३६ रुपैयाँ मूल्य तोकिएको पेट्रोल आयातमा भन्सार मात्रै ५७ रुपैयाँ डिजेलान ११९ रुपैयाँ मूल्य रहेकोमा प्रतिलिटर भन्सार ४० रुपैयाँ लाग्छ । लकडाउन हुनुअघि २०७६ साल चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । 
 कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न २०७६ साल चैत ११ गते लकडाउन घोषणा भयो । लकडाउन घोषणासँगै सार्वजनिक र निजी सवारीसाधन चल्न बन्द भयो । विश्व बजारमै पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेपछि आयल निगमले चैत १९ गते मूल्य समायोजन गर्दै पेट्रोलको प्रतिलिटर ९६ र डिजेल/मट्टितेलको ८५ रुपैयाँ तोक्यो ।
२०७६ चैत १९ यता अहिलेसम्म निगमले २१ पटक मूल्य बढाइसकेको छ । यस अवधिमा २४ पटक मूल्य समायोजन भएको निगमले बताइरहेको छ । वास्तवमा, अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको र विनिमयदर उकालो लागेसँगै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जानकारी दिएको छ । कोभिड-१९ महामारी शुरू हुँदै गर्दा अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ५५ अमेरिकी डलर थियो । यो अहिले बढेर ८३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।