२७ मंसिर, २०८१ बिहिबार

02:57:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छ महिनामै झण्डै चार अर्बको सेनेटरी प्याड आयात

१९ माघ, २०७८

छ  महिनामै झण्डै चार अर्बको सेनेटरी प्याड  आयात

काठमाण्डौं

महिलाहरुले महिनेपिच्छे प्रयोग गर्ने प्याड (स्यानेटरी प्याड) वर्षेनी अरबौ रुपैयाँको बाह्य देशबाट आयात गरिदै आएको छ । भारत, चाइना, डेनमार्क, फिलिपिन्स, साउदी अरेबिया, अमेरिका तथा हङकङ प्याड आयात गरिने देश हुन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा (साउनदेखि पुससम्म) ३ अर्ब ७५ करोड २३ लाख ४७ हजार रुपैयाँको सेनेटरी प्याड आयात गरेको छ । यो अवधिमा भन्सार विभागले प्याड आयातबाट ३८ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख  छ । 

महिनावारीका बेला प्रयोग गरिने कप असोज महिनामा १ लाख ६८ हजारको आयात भएको छ । जसको राजस्व ५० हजार हुन्छ । सोही अवधिमा गत आर्थिक वर्षमा २ अर्ब ४२ करोड २२ लाख ८६ हजार रुपैयाँको प्याड, महिनावारीमा प्रयोग गरिने कप, न्यापकिन, आयात गरेको छ । जसबाट विभागले ६७ करोड ६५ लाख ९८ हजार रुपैयाँ राजस्व उठाएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा सेनेटरी प्याड, न्यापकिन तथा कप गरी कुल ७ अर्ब २४ करोड ११ लाख ७५ हजार २ सय ८२ रुपैयाँको आयात भएको विभागको तथ्यांकमा छ । जसबाट विभागले २ अर्ब ७ करोड ९२ लाख ११ हजार राजस्व संकलन गरेको थियो । 
वर्षेनी नेपालको प्याड, न्यापकिन, कप लगायतका सामाग्री आयात गर्दा अर्बौ रुपैयाँ बाहिर जान्छ । तर अझै पनि सरकारले यस्ता वस्तु नेपालमै उत्पादन गर्ने राम्रो वातावरण बनाउन सकेको छैन ।

अहिले नेपालमा प्याड उत्पादन गर्ने केहि कम्पनी मात्र छन् । सरकारले ती कम्पनीलाई प्रोत्साहन गर्ने र अझै प्याड लगायतका वस्तु उत्पादन गर्ने कम्पनी सञ्चालनमा ल्याउन जरुरी रहेको विज्ञहरु बताउछन् ।  

पहिले महिलाहरु महिनावारी हुँदा सुती कपडाको टालो प्रयोग गर्थे । तर विस्तारै महिलाहरु शिक्षित हुँदै गर्दा प्याडको प्रयोग बढ्दै गएको हो । टालोले गर्दा धेरै रोग लाग्ने तथा प्रयोग गर्न गाह्रो हुने, तर प्याड प्रयोग गर्दा सहज तथा स्वस्थ भइने बुझेपछि प्याडको प्रयोग बढेको हो ।
 
एक अध्ययन अनुसार एक महिलाले जीवनकालमा १५ हजार प्याड प्रयोग गर्छन् । महिलाले आफ्नो जीवनको ३ हजार ५ सय दिनसम्म महिनावारीको अवस्था भोग्नु पर्ने हुन्छ । विश्वमा २७ वटा भन्दा बढी सेनेटरी  प्याडका ब्राण्डहरु रहेका छन् । नष्ट गर्न सकिने र नष्ट गर्न नसकिने दुई प्रकारका सेनेटरी  प्याड हुन्छन् । नष्ट हुन नसक्ने प्याड २ सय देखि १ हजार वर्षसम्म रहने गर्छ भने नष्ट हुन सक्ने प्याड १ सय ८० दिनमा नष्ट हुने गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वल्ड भिजनको संयुक्त सहकार्यमा तयार पारिएको अध्ययन अनुसार महिनावारीका बेला प्रदेश १ मा ६१ प्रतिशतले डिस्पोजेवल स्यानेटरी प्याड प्रयोग गर्छन् भने रियुजेबल स्यानेटरी प्याड २९, नयाँ कपडा ३१ प्रतिशत, पुरानो कपडा ११.१, कटन उल १.८ प्रयोग गरेको देखिएको छ।

प्रदेश २ मा डिस्पोजेवल स्यानेटरी प्याड ३२.२ प्रतिशत, रियुजेबल स्यानेटरी प्याड ४८.२ प्रतिशत, नयाँ कपडा २७.८ प्रतिशत पुरानो कपडा १५.८ प्रतिशत, कटन उल १.५ प्रतिशत प्रयोग गर्छन्।

यस्तै बागमती प्रदेशमा डिस्पोजेवल प्याड ४५.८ प्रतिशत, रियुजेबल (पुनःप्रयेग गर्न मिल्ने) प्याड ५१.५ प्रतिशत, नयाँ कपडा ३२.६ प्रतिशत, पुरानो कपडा ११.५ प्रतिशत, कटन उल ३.३ प्रतिशतले प्रयोग गर्छन् भने गण्डकी प्रदेशमा डिस्पोजेवल प्याड ७८.० प्रतिशत, रियुजेबल प्याड २२.० प्रतिशत, नयाँ कपडा १५.३ प्रतिशत, पुरानो कपडा २०.७ प्रतिशत र कटन उल ५.० प्रतिशतले प्रयोग गर्छन्।

प्रदेश ५ मा डिस्पोजेवल प्याड ६४.६ प्रतिशत, रियुजेबल (पुनःप्रयोग गर्न मिल्ने) प्याड २७.१, नयाँ कपडा २१.९ प्रतिशत, पुरानो कपडा २.६, तामपोन्स ०.४ प्रतिशत, ट्वाइलेट पेपर ०.२ प्रतिशत र ‘अर्डरवेयर’ मात्र ०.१ प्रतिशतले प्रयोग गर्छन्।

कर्णाली प्रदेशमा डिस्पोजल प्याड ३१.७ प्रतिशशत, रियुजेबल स्यानेटरी प्याड ४५.१ प्रतिशत, नयाँ कपडा २२.७, पुरानो कपडा २१.२, कटन उल ५.१ प्रतिशतले प्रयोग गर्छन्।

सुदुरपश्चिम प्रदेशमा डिस्पोज स्यानेटरी प्याड ३९.९ प्रतिशत, रियुजेबल ५४.१ प्रतिशत, नयाँ कपडा २९.१ प्रतिशत, पुराना कपडा ६.२ प्रतिशत, कटन उल ६.२ प्रतिशत तामपोन्स ०.१, ट्वाइलेट पेपर ०.५ र अर्डरवेयर मात्र ०.६ प्रतिशतले प्रयोग गर्छन्।