२२ बैशाख, २०८१ शनिबार

05:07:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गणेशमान स्मृति उद्यान निर्माणका लागि १ करोड सहयोग

Nepal Business

८ माघ, २०७८

गणेशमान स्मृति उद्यान निर्माणका लागि १ करोड  सहयोग

काठमाण्डौं

काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप १ करोड उपलब्ध गराउने भएको छ ।  

नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप १ करोड उपलब्ध गराउने भएको हो । कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै १ करोड प्रदान गरिसकेको छ ।

कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै आएको छ । महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवद्र्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् । 

यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।

त्यसैगरी कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ ।  त्यस्तै बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नं ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ । टोखा नगरपालिका–१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ ।  

तारकेश्वर नगरपालिकामा कामपाको सहयोगबाट वडा नं ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका–६ डाँडापौवामा गणेशमान स्मृति उद्यान, चन्द्रागिरि नगरपालिका–१३ कङ्काली मन्दिर क्षेत्रमा मदन भण्डारी उद्यानको निर्माणमा पनि कामपाले सहयोग गरेको छ । कामपाकै आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिकास्थित दक्षिणकाली मन्दिर क्षेत्रको निर्माण र संरचनागत व्यवस्थापनका काम भइरहेको छ । 

मध्यपुरथिमि नगरपालिकाले शङ्खधर उद्यानको पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । त्यसमा पनि कामपाको सहयोग रहेको बताइएको छ । यसरी काठमाडौँ उपत्यका बाहिर भगिनी सम्बन्ध स्थापना गरिएका हरेक नगरलाई पार्क निर्माणकै लागि कामपाले १ करोड ५० लाख उपलब्ध गराएको छ । यसरी सहयोग गरिएका नगरपालिकामा धनकुटाको पाख्रीबास, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) को रामग्राम, डडेल्धुराको अमरगढी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका छन् । रासस