१५ चैत, २०८० बिहिबार

06:57:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलमा साँढे ९ करोड लगानी गर्ने भरतपुर महानगर उत्कृष्ट पालिका, किरण चेम्जोङ वर्ष उत्कृष्ट खेलाडी

Nepal Business

१८ भदौ, २०७९

राखेपले यसपाली टेबल टेनिसका इभाना थापा र एथेलेटिक्सका सुदीप थारुलाई जुनियरतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार प्रदान गरेको छ ।

खेलमा साँढे ९ करोड लगानी गर्ने भरतपुर महानगर उत्कृष्ट पालिका, किरण चेम्जोङ वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ,

राष्ट्रिय खेलकुद परिषद् (राखेपले)ले आफ्नो ५९औँ वार्षिकोत्सव समारोहमा शनिबार विभिन्न विधामा खेलाडी, पत्रकार तथा संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । 

परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजको समुपस्थितिमा परिषद्ले उत्कृष्ट स्थानीय तह सम्मानका साथै उत्कृष्ट (जुनियर र सिनियर) वर्ष खेलाडी तथा उत्कृष्ट खेलकुद पत्रकारलाई सम्मान गरेको छ । 

परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजको समुपस्थितिमा परिषद्ले उत्कृष्ट स्थानीय तह सम्मानका साथै उत्कृष्ट (जुनियर र सिनियर) वर्ष खेलाडी तथा उत्कृष्ट खेलकुद पत्रकारलाई सम्मान गरेको छ । 

यस्तै राखेपले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, दीर्घ सेवा पदक, उत्कृष्ट परिषद् सेवा पदक, परिषद् सेवा पुरस्कार, उत्कृष्ट  खेल सामग्री उत्पादक, उत्कृष्ट राष्ट्रिय खेल सङ्घलाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । 

राखेपले यसपाली टेबल टेनिसका इभाना थापा र एथेलेटिक्सका सुदीप थारुलाई जुनियरतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार प्रदान गरेको छ ।

यस्तै पारा–तेक्वान्दोका खेलाडी पलेसा गोवद्र्धन र फुटबलका खेलाडी किरण चेम्जोङलाई सिनियरतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै पुरस्कृत गरेको हो । 

विभिन्न व्यक्ति सम्मानित 

राखेपले यसपटक खेल पत्रकारितामार्फत नेपाली खेलकुदको विकासमा गरेको योगदानको स्मरण गर्दै पत्राकार मुना कार्की र नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वध्यक्ष महेश आचार्यलाई वर्ष उत्कृष्ट खेलकुद पत्रकार घोषणा गरी पुरस्कृत गरेको छ ।  

समारोहमा उत्कृष्ट खेल सामग्री उत्पादन गर्ने कामारु ट्रेडिङ प्राली र उत्कृष्ट राष्ट्रिय खेल सङ्घ घोषित भएको ट्रायथलन खेल सङ्घलाई सम्मान गरिएको छ । 

सोही समारोहमा राखेपले रु २५ हजार राशिको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, रु १५ हजार राशिको उत्कृष्ट परिषद् सेवा पुरस्कार, रु १० हजार राशिको परिषद् सेवा पुरस्कार तथा २५ वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 

भरतपुर महानगर उत्कृष्ट 

राष्ट्रिय खेलकुद परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई सात सय ५३ मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको छ । नेपालका स्थानीय तहमध्ये खेलकुदका क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेकाले भरतपुरलाई उत्कृष्ट महानगर घोषित गरिएको राखेपले जनाएको छ । 

गएको वर्ष उक्त महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि रु नौ करोड ४७ लाख रकम विनियोजन गरेको जनाइएको छ । काठमाडौँमा भएको राखेपको वार्षिकोत्सव समारोहमा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । 

सम्मान समारोहमा भिडियो सन्देशमार्फत महानगरप्रमुख रेनु दाहालले भरतपुरले खेल पर्यटन सिटीका रुपमा विकास गर्ने सोच आफ्नो रहेको बताउनुभयो । उहाँले एक वडा एक खेलग्राम, एक विद्यालय एक खेलमैदान, नगरस्तरी खेल मैदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल मैदानलगायत परियोजना अघि बढाएको जानकारी दिनुभयो । उक्त पुरस्कार प्रधानमन्त्री देउवा तथा खेलकुदमन्त्री गहतराजसहित उपस्थित अतिथिबाट वितरण भएको थियो । 

पैँतिस खेल गण्डकी प्रदेशमा 

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये ३५ खेल गण्डकी प्रदेशमा खेलाइने जानकारी दिनुभएको छ । उहाँले एउटा खेलका विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले अहिलेसम एशियन गेममा स्वर्णपदक प्राप्त गर्न नसकिरहेकाले चाँडै त्यो इतिहास नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले १९औँ एशियाली खेलकुद एक वर्ष सरे पनि नेपालले आफ्नो तयारी नरोकेको जानकारी दिनुभयो । सदस्य सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदलगत्तै १९औँ एशियाली गेमका लागि तयारी थाल्ने उल्लेख गर्नुभयो । उहाँलै त्यसको तयारीका लागि सरकारबाट रु १० करोड बजेट आइसकेको पनि उहाँले बताउनुभयो ।

उहाँले पाकिस्तानमा हुन लागेको १४औँ दक्षिण एशियाली खेलकुद र सन् २०२४ मा पेरिसमा ओलम्पिक हुन लागेकाले सबै खेलका लागि व्यवस्थित तयारीमा लागेको जानकारी दिनुभयो । समारोहमा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुद  आर्थिक उत्पादन, जीविकोपार्जनका साथै मुलुकको समृद्धिका लागिसमेत खेलकुद महत्वपूर्ण हुँदै गएको जानकारी दिनुभयो ।