६ मंसिर, २०८१ बिहिबार
08:49:52 PM
३ माघ, २०७८
काठमाण्डौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सातै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताउनु भएको हो ।
मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताउनुभयो । समग्र जनसंख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उहाँले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताउनुभयो । उहाँलेभ भन्नुभयो, ‘बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म २ करोड ८० लाख डोज खोप लगाइसकिएको छ । ’
गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताउनुभयो । अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ ।
‘सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ’। उँहाले भन्नुभयो । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिनुभयो ।