८ जेठ, २०८१ मंगलबार

07:53:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहायतामा नेपालको पहिलो जहाज चार्टर... अफगानिस्तानलाई दियो नौ टन मानवीय सहयोग

२ माघ, २०७८

सहायतामा नेपालको पहिलो जहाज चार्टर... अफगानिस्तानलाई दियो नौ टन मानवीय सहयोग

 

भीष्मराज ओझा,

२ माघ, अफगानिस्तान । नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आइतबार आयोजित कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमममा मन्त्रालयको प्रवक्तासमेत रहनुभएका सहसचिव लम्सालले सार्कको सदस्य राष्ट्र र नेपालको सुमधुर सम्बन्ध भएको मुलुकका जनतालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले यस कार्यमा परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा मन्त्रालयले धेरै अघिदेखि तयारी गरेको जानकारी गराउँदै सहयोग सामग्री उपलब्ध गराउने नेपालका निजी क्षेत्रलाई धन्यवाद दिनुभयो ।  

यसैगरी उपविशेष प्रतिनिधि डा अलकबारोभले नेपालले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै उपलब्ध मानवीय सहायता सामग्री दैनिक आवश्यकता भएका अफगान जनतालाई पारदर्शी रुपले वितरण गरिने विश्वास दिलाउनुभयो ।

परराष्ट्र मन्त्री डा खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित नौ हजार ७१५ केजी मानवीय सहायता सामग्री आजै चार्टर्ड विमानमार्फत अफनानिस्तान पठाइएको थियो ।

नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित नौ हजार ७१५ केजी मानवीय सहायता सामग्री आजै चार्टर्ड विमानमार्फत अफनानिस्तान पठाइएको हो

अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ ।

नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका सङ्घसंस्थालगायतले सहयोग गरेका हुन् । हिमालय एअरलाइन्सले उक्त मानवीय सहायता सामग्री पु¥याउन आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काबुलतर्फ आफ्नो निःशुुल्क कार्गो उडान भरेको हो ।

सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक वाणिज्य दूत गरी १५ सदस्यीय टोलीमा अफगानिस्तान गएको थियो । आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको थियो ।

परराष्ट्र मन्त्री डा नारायण खड्काले सार्कको सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको बताउनुभएको थियो ।

सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक वाणिज्य दूत गरी १५ सदस्यीय टोलीमा अफगानिस्तान गएको थियो 

नेपालको इतिहासमा यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाएको पहिलो पटक हो । मन्त्री खड्काले यस कार्यले नेपालले सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश गएको बताउनुभयो ।

यस कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास व्यक्त गर्र्दै उहाँले पूर्णतया निःशुल्क कार्गो उडानमार्फत सहयोग पु¥याएकोमा हिमालय एअरलाइन्स्लाई धन्यवाद दिनुभएको थियो । मन्त्री खड्काले अफगानिस्तानलाई मानवीय सहयोग प्रदान गर्ने सो कार्यलाई महत्व दिँदै बिहान सो टोलीलाई बिदाइ गर्न र साँझ स्वागत गर्न स्वयं विमानस्थल पुग्नुभएको थियो । रासस