४ जेठ, २०८१ शुक्रबार

09:44:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछः राष्ट्रपति भण्डारी

Nepal Business

१ माघ, २०७८

माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछः राष्ट्रपति भण्डारी

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा शुभकामना दिनु भएको छ ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाइने प्रचलन रहेको उल्लेख गर्नु भएको छ ।

विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको राष्ट्रपति भण्डारीले बताएकी हुन् । साथै उनले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आव्हान पनि गर्नु भएको छ  ।

‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ, राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नु भएको छ  ।

मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा रहेको छ ।