७ मंसिर, २०८१ शुक्रबार
05:56:44 AM
१३ साउन, २०७९
काठमाण्डौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गरेकोे छ । कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चातपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
कम्पनीका अनुसार सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।
यी बाहेक बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन २७ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बिक्रि प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिन व्यवस्था छ ।
यो शेयर खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ ।