७ मंसिर, २०८१ शुक्रबार

11:23:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एचआईडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा बिक्री गर्ने

८ साउन, २०७९

एचआईडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक सेयर बिक्री नभएपछि साउन १५ गतेदेखि पुनः लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो । जसमध्ये, ५१ लाख ९० हजार ५२० कित्ता सेयर मात्रै बिक्री भएको थियो । अहिले कम्पनीले २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

लगानीकर्ताले साउन १५ गतेदेखि साउन २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताहरुले लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लिलामी सेयरमा ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।