२६ बैशाख, २०८१ बुधबार

12:50:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत आर्थिक वर्षमा वास्थ्य बीमा बोर्डद्धारा ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी

Nepal Business

२ साउन, २०७९

गत आर्थिक वर्षमा वास्थ्य बीमा बोर्डद्धारा ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य बीमा बोर्डले साढे ९ अर्ब रूपैयाँभन्दा धेरै भुक्तानी गरेको छ । 

बोर्डले गत आर्थिक वर्षको असार मसान्तसम्ममा साढे ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी गरेको हो । हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

ती सेवा प्रदायक संस्थाहरूलाई बोर्डले अघिल्लो आर्थिक वर्षमा बाँकी रहेको ३ अर्ब ४६ करोड रूपैयाँ सहित सो बराबरको रकम भुक्तानी गरेको हो ।बोर्डका अनुसार असार ३१ गतेसम्म सो रकम भुक्तानी भएको हो ।

बोर्डको असार ३० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो ।

बोर्डले २०७८ असोज १२ गते १ अर्ब ४६ करोड ९ लाख ६४ हजार रूपैयाँ, २०७८ असोज २४ गते ११ करोड ८१ लाख ५ हजार रूपैयाँ र कात्तिक ११ गते २५ करोड ९४ लाख ८७ हजार रूपैयाँ भुक्तानी गरेको थियो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा÷मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया  सुरु गरिन्छ । 

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकन सहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

प्रतिपरिवार(५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ । स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।