१६ चैत, २०८० शुक्रबार

07:50:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युरोपमा अत्यधिक गर्मीसँगै अनियन्त्रित डढेलो, पोर्चुगलमा आपत्कालीन अवस्थाको घोषणा

Nepal Business

३२ असार, २०७९

पोर्चुगल, स्पेन, फ्रान्स, इटाली, बेलायत बढी प्रभावित, कम्तीमा ३ सय जनाको मृत्यु, हजारौं विस्थापित

युरोपमा अत्यधिक गर्मीसँगै अनियन्त्रित डढेलो, पोर्चुगलमा आपत्कालीन अवस्थाको घोषणा

पेरिस, 

युरोपमा केही दिनयताको उच्च तापक्रमसँगै फैलिएको डढेलोका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

पोर्चुगल, स्पेन र दक्षिण–पश्चिम फ्रान्समा हजारौं मानिसहरू विस्थापित भएका छन् भने लाखौं प्रभावित भएका जनाइएको छ ।

पोर्चुगल, स्पेन र दक्षिण–पश्चिम फ्रान्समा हजारौं मानिसहरू विस्थापित भएका छन् भने लाखौं प्रभावित भएका जनाइएको छ ।

पोर्चुगलमा मंगलबारयताको तापक्रम कम्तीमा ४७ डिग्री सेल्सियस रहेको छ । स्पेन र फ्रान्सका कतिपय स्थानको तापक्रम ४५ डिग्री पुगेको जनाइएको छ । जसका कारण ग्रामीण क्षेत्रहरूमा फैलिएको डढेलो अनियन्त्रित बन्दै गएको छ ।

ती देशहरूमा गर्मीका कारण ३ सयभन्दा बढी मानिसको मृत्यु भएको स्पेनको इफे समाचार एजेन्सीले जनाएको छ ।

पोर्चुगलको उत्तरी क्षेत्रमा डढेलो निभाउने क्रममा ‘वाटर–बम्बर’ विमान दुर्घटना हुँदा चालकको ज्यान गएको बीबीसीले जनाएको छ ।

कम्तीमा १ सय ३५ जना घाइते भएको स्थानीय अखबारहरूले जनाएका छन् । डढेलो अनियन्त्रित बन्दै गएपछि हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेलोपछि पोर्चुगलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ भने स्पेन, बेलायत, फ्रान्स र ग्रीस डढेलो नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।

फ्रान्सको गिरोन्डे क्षेत्रबाट १२ हजार जना र स्पेनको कोस्टा डेल सोलका २ हजार ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

पोर्चुगलको नागरिक सुरक्षा प्राधिकरणका अनुसार लगभग ८ सय मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निकालिएको छ । प्राधिकरणले देशभर २८ स्थानमा सक्रिय रहेको डढेलो निभाउन २ हजारभन्दा बढी अग्नि नियन्त्रक खटाइएको जनाएको छ ।

पोर्चुगलको इन्स्टिच्युट फर सी एन्ड एटमोस्फियर (आईपीएमए) ले एक दर्जनभन्दा बढी स्थानमा तापक्रमले रेकर्ड कायम गरेको जनाएको छ ।

‘यो सामान्य अवस्था होइन । सबै अर्थमा गम्भीर छ,’ आईपीएमए मौसमविद् प्याट्रिसिया गोम्सले पोर्चुगिज प्रेसलाई बताएकी छन् ।