१० मंसिर, २०८१ सोमबार
05:39:02 AM
३१ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २६ कम्पनीको सेयर कारोबार रोक्का भएका छन् । नेप्सेमा मर्जर तथा प्राप्तिमा जान लागेका २६ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का भएको हो ।
नेप्सेका अनुसार हाल ६ वटा वाणिज्य बैंक, ८ वटा निर्जीबन बीमा कम्पनी, ७ वटा जीवन बीमा कम्पनी र ५ वटा माइक्रोफाइनान्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा कारोबार रोक्का हुने बैंकहरु निम्न छन्ः
१) नेपाल बंगलादेश बैंक
नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि नेप्सेमा बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट यस बैंकको सेयर कारोबार रोक्का भएको छ ।
२) इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने सहमति भएपछि यी दुई बैंकको कारोबार नेप्सेले रोक्का गरेको हो । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको हो । जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो । २७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः ९० अनुपातमा मर्जर गर्न लागेको हो ।
३) ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू
नेप्सेमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुबै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुबै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ ।
४) सिभिल बैंक
हिमालयन बैंकले सिभिल बैंकलाई एक्विजिशन गर्ने भएकाले सिभिलको कारोबार रोक्का भएको हो । बैंकको कारोबार आज (असार ३० गते) देखि कारोबार रोक्का भएको छ । हिमालयनले सिभिललाई १००ः८१ अनुपातमा एक्वायर गर्न लागेको हो ।
नेप्सेमा कारोबार रोक्का हुने जीवन बीमा कम्पनीहरु
१) प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ
प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्स आपसमा गाभिन वैशाख २९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त हस्ताक्षरमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुषराज अर्याल र गुँरास लाइफका अध्यक्ष विवेक दुगडले हस्तारक्षर गर्नुभएको छ । यी कम्पनीबीच आपसमा गाभिने सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो ।
२) सूर्या लाइफ र ज्योति लाइफ
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स गाभ्ने गाभिने विषयमा असार १३ गते सम्झौता भएको छ । उक्त सम्झौता अनुसार दुबै कम्पनीको कारोबार रोक्का भएको छ ।
३)रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स
रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जरका लागि असार २९ गते हस्ताक्षर भइसकेको छ । सम्झौतामा रिलायन्सका सञ्चालक भरत कुमार तोदी र सानिमाका सञ्चालक धनश्याम थापाले हस्ताक्षर गर्नुभएको छ । यी इन्स्योरेन्सबीच मर्जरका लागि हस्ताक्षर भएलगत्तै सेयर कारोबार रोक्का भएको छ ।
नेप्सेमा कारोबार रोक्का हुने निर्जीबन बीमा कम्पनीहरु
१) लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीको सेयर कारोबार रोक्का आज (असार ३० गते) बाट भएको हो ।
२) सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी
सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीको सेयर कारोबार रोक्का आज (असार ३० गते) बाट भएको हो ।
३) सिद्धार्थ, प्रिमियरइन्स्योरेन्स
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कारोबार असार २८ गतेदेखि रोक्का भएको छ । दुवै कम्पनीबीच असार २७ गते एक आपसमा गाभ्ने।गाभिने सम्झौतामा हस्ताक्षर भएपछि कारोबार रोक्का भएको हो ।
४) एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको पनि सेयर कारोबार रोक्का रहेको छ । दुबै कम्पनीले बैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । उक्त हस्ताक्षरपछि कारोबार रोक्का भएको हो ।
दुवै कम्पनीले साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । त्यसका लागि बमिा समितिले असार २३ गते अन्तिम स्वीकृति दिइएको बताइएको छ ।
लघुवित्त कम्पनीहरु
१) आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था
आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको पनि सेयर कारोबार रोक्का भएको छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन् । दुई लघुवित्तबीच असार २२ गते एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी २ कम्पनीबीच १००ः७० कित्ता सेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ ।
२) नाडेप लघुवित्त र घोडाघोडी लघुवित्त र समाज लघुवित्त
नाडेप लघुवित्त र घोडाघोडी लघुवित्त र समाज लघुवित्तको पनि सेयर कारोबार रोक्का भएको छ । यी कम्पनीको कारोबार लामो समयदेखि रोक्का रहेको छ ।