२६ बैशाख, २०८१ बुधबार

03:32:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धमाधम मर्जरमा जाँदै बीमा कम्पनीहरु, हालसम्म १७ कम्पनीको भयो प्रारम्भिक सम्झौता

३१ असार, २०७९

धमाधम मर्जरमा जाँदै बीमा कम्पनीहरु, हालसम्म १७ कम्पनीको भयो प्रारम्भिक सम्झौता

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । नियामक निकाय बीमा समितिले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जान थालेका छन् ।

बीमा समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले न्यूनतम रू ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिले जनाएको छ । बीमा कम्पनीहरूलाई समितिले हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

यी हुन् मर्जरमा जान सम्झौतापत्रमा हस्तारक्षर गर्ने १७ बीमा कम्पनी

हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्तारक्षर गरेका छन् । जसमा ८ निर्जीवन र ९ जीवन बीमा कम्पनी रहेका छन् । निर्जीवनतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ ।

यस्तै, हिमालयन जनरल र एभरेष्टले आगामी आइतवारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । जीवनतर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन गाभिँदै छन् । सूर्या लाइफ र ज्योति लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमति गरेका छन् ।

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफले पनि मर्जरमा जाने निर्णयमा पुगेका हुन् । नेपालमा २० निर्जीवन बीमा र १९ जीवन बीमा गरी कुल ३९ वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन् ।

हालसम्म सम्झौता वा समझदारीपत्रमा हस्ताक्षर गरेका कम्पनीहरू मर्ज भइसकेपछि जीवनतर्फ ४ र निर्जीवनतर्फ ४ कम्पनीको संख्या घट्ने छ । सहमति वा सम्झौता गरिसकेका कम्पनी गाभिएपछि निर्जीवनतर्फ १६ र जीवनतर्फ १५ गरी ३१ वटा कायम हुनेछ ।