७ मंसिर, २०८१ शुक्रबार

09:10:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिक्लेस हाइड्रोले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने, क- कसले दिन पाउँछन् आवेदन ?

३० असार, २०७९

सिक्लेस हाइड्रोले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने, क- कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा कास्की जिल्लाको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको जारी पूँजी ८५ करोड रूपैयाँको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं १, २ र ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा साउन २० गतेसम्म र उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय, बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड एवमं नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।