२६ बैशाख, २०८१ बुधबार

08:24:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा समितिद्वारा म्यादी बीमामा पुल प्रणाली खारेज, जारी गर्यो यस्तो निर्देशन

२९ असार, २०७९

बीमा समितिद्वारा म्यादी बीमामा पुल प्रणाली खारेज, जारी गर्यो यस्तो निर्देशन

काठमाडौं । बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्न सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बुधबार सबै जीवन बीमा कम्पनीरुलाई सर्कुलर जारी गर्दै साउन १ गतेदेखि लागु हुनेगरी पुल प्रणाली खारेज गर्न निर्देशन दिएको हो ।

यसअघि बीमा समितिले २०७५ माघ १ गते म्यादी बीमा पुलमार्फत् गर्न सकिने व्यवस्था गरेको थियो ।  समितिले अब पुल प्रणाली बन्द गर्न र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरुको दायित्व सकिएपछि पुल स्वतः खारेज हुने जनाएको छ । २०७९ साउन १ गतेदेखि इच्छुक सबै जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने समितिले जनाएको छ ।

यस्तो बीमालेख अनलाइन माध्यमबाट मात्र जारी गर्न पाइने छ । अनलाइनबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेख अनलाइन मार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी नहुने गरी तोक्न समितिले निर्देशन दिएकाे छ ।  वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरु गर्नुअघि समितिलाई जानकारी दिन व्यवसाय बन्द गर्नुपरे कारणसहित समितिमा जानकारी गराउन पनि निर्देशनमा भनिएको छ ।

आर्थिक वर्ष ०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम नेपाल पुनर्बीमा कम्पनीले गर्ने भएको छ । पुल अन्तर्गत रहेको दायित्वको दाबी रकम बीमालेख जारी गर्ने बीमा कम्पनीले नै यथाशिघ्र भुक्तानी गर्नुपर्ने र पुलमा सहभागी सबै बीमा कम्पनीकहरुले आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गर्नु समितिको निर्देशनमा उल्लेख छ ।