७ मंसिर, २०८१ शुक्रबार
09:03:19 PM
२८ असार, २०७९
काठमाण्डौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत आयोजनामा करिब १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएका दर्जन बढी जलविद्युत आयोजनामा ११ वर्षमा करिब १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको हो।
कम्पनीले ४८४ मेगावाटका १३ जलविद्युत आयोजनामा १५ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको हो । कम्पनीका अनुसार प्रतिवद्धता गरेको आयोजनामा अहिलेसम्म ६ अर्ब ७७ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ ।
कम्पनीले २३ मेगावाटको बागमती साना, २३.५ मेगावाटको सोलु खोला, ४२ मेगावाटको मिस्त्री खोला, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ८६ मेगावाटको सोलुखोला दुधकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३–बी, २५ मेगावाटको काबेली बी–१, २२.१ मेगावाटको तल्लो हेवा खोला र ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत आयोजनामा लगानी गरेको छ ।
लगानी भएका आयोजनामध्ये, बागमती साना, सोलु खोला, मिस्त्री खोला, न्यादी खोला, तल्लो सोलु, काबेली बी–१ र तल्लो हेवा सञ्चालनमा आइसकेका छन् भने दोर्दीको पनि निर्माण पूरा भई परिक्षणको चरणमा छ ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत प्रणालीमा जोडिन नपाएको कम्पनीले जानकारी दिएको छ ।
यस्तै, कम्पनीले १२ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरूमा करिब ९ अर्ब रुपैयाँ सेयर लगानी गर्ने प्रतिवद्धता भई हालसम्म २ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रवाह गरिसकेको छ।