७ मंसिर, २०८१ शुक्रबार
08:43:13 PM
२८ असार, २०७९
माथिल्लो फवा खोलाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३ केभी लाइन निर्माण गर्ने
काठमाण्डौं । युनिटेक हाइड्रो पावर कम्पनीले ३३ केभी लाइन निर्माण गर्ने भएको छ । कम्पनीले माथिल्लो फवा खोलाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३ केभी लाइन निर्माण गर्ने भएको हो ।
कम्पनीले ताप्लेजुङमा निर्माणाधीन आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको काबेली सबस्टेसनसम्म करिब ८ किलोमिटर लामो लाइन निर्माण गर्न लागेको जानकारी दिएको छ ।
प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङ जिल्लाको पाथिभरा याङवरक गाउँपालिकास्थित माथिल्लो फवा खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि पाँचथर जिल्लाको प्राधिकरणको ३३÷१३२ केभी सबस्टेसन सम्म लाइन निर्माण गर्न लागिएको हो ।
७.८ किलोमिटर लामो लाइनमा करिब १६० वटा पोलहरू रहने कम्पनीले जनाएको छ । जमिनको सतहबाट पोलको उचाई १३ मिटर तथा पोलहरूबीचको औसत दुरी ७० मिटर हुनेछ । लाइन निर्माणको काम आगामी ७ महिनाभित्र सम्पन्न गरिने पनि कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ ।
कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग सुझाव मागेको छ ।