७ मंसिर, २०८१ शुक्रबार
06:32:49 PM
२७ असार, २०७९
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएको छ । एसोसिएसनले धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरी संशोधनका लागि अर्थ मन्त्रालयमा पठाउँदा ब्रोकरसँग समन्वय नगरेको भन्दै त्यसको विरोध गर्दै धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएको हो ।
एसोसिएसनले सोमबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै अर्थमन्त्रालयमा बिचाराधिन रहेको मस्यौदामा व्यवसायीहरुको पनि राय सुझाव समेटिनेगरी पुनः छलफल चलाउन आवश्यक रहेको जनाएका छन् ।
आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायिहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पूँजिको कमि भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पूँजि लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ ज्ञापन पत्र
मितिः २०७९/०३/२७
श्रीमान अध्यक्षज्यू
नेपाल धितोपत्र बोर्ड
खुमलटार, ललितपुर
विषयः ज्ञापनपत्र बुझाइएको सम्बन्धमा ।
श्रीमान अध्यक्षज्यू
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको कुरा यहाँलाई बिदितै छ । उक्त नियमावली हामी धितोपत्र दलाल व्यवसायिहरुसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व हामी व्यवसायिहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गर्दै उक्त नियमावलीमा संसोधन गर्न मस्यौदा गर्नुपुर्व हामीसँग कुनैपनि राय सुझाव नलिइ अस्वभाविक हतारोमा रातारात ल्याइएको हुँदा एकातिर हामीले हाम्रो अभिभावकको रुपमा रहेको नियामक कतै हराएको होकि भन्ने आभास गरेकाछौं भने अर्कोतफ उक्त संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा हामी व्यवसायिहरुको हितमा छ भन्ने कुरामा हामी बिस्वसत हुन सकेका छैनौं ।
हाल संचालनमा रहेका व्यवसायिहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुननसकेको भन्ने तथ्यहिन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसयिको संख्या वृद्धिको प्रावधानले दसकांैदेखि कायम हाम्रो निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको पनि हामीले महसुस गरेकाछौं । यसबाट हामी व्यवसायि अत्यन्तै चिन्तित र दुखि भएका छौं ।
बिगत तिन दशकदेखि यस बजारको सारथिका रुपमा रहेका हामी व्यवसायिले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दै आएकै हौं । भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहि रातभरि कार्यालमै बसि राफसाफ कार्यलाई नियमित गरेकै थियौं । अभौतिक धितोपत्रको मात्र कारोबार हुने ब्यव्सथा लागु गर्न लाखौंको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकिकरण गरेकौहौं । राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केट जस्ता बजारका आधारभुत पुर्वाधारहरुको स्थापनामा नियामक र बजार संचालकनै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति ब्यहोरेरै भए पनि बिगत तिन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता शेयर र बिक्रि गरेको एक रुपैयाँ नगद गुमाउनु पर्ने अवस्थाको सृजना हुन नदिइ बजारको बिश्वसनियता कायम गरेकै हौं । बजारका यति बिघ्न बाधाब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका हामी व्यवसायिलाई आज काम गर्न केहि सहज परिस्थितिको सृजना हुने बित्तिकै कुनै अवसरनै नदिइ कुनै परिक्षणनै नगरि अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट बिस्थापित हुने बाताबरणको सृजना गरिदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पुर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएकोछ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहित भएका छौं ।
हामी व्यवसायिले बजार तथा सेवाको बिस्तारका लागि गरेका बहुसंख्यक अनुरोधहरुलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनैपनि निति निर्देशन जारि नभएको, व्यवसायिबाट के कति कारणले बिस्तार सम्भव नभएको भनि एउटा पनि अध्ययन नियामकले नगराएको सन्धर्भमा नियामकलेनै व्यवसायिहरु माथि झुठो आरोप लगाइ अन्य कुनै पनि बित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानि अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिइ संख्यामात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त बिपरितको कार्य रहेको हाम्रो ठहर छ ।
सेवा बिस्तार गर्न दशकौंदेखि विभिन्न सेवा थप्न माग गर्दै आएकोमा ति मध्ये एउटा मार्जिन कारोबारको मात्र कार्यबिधि लागु भइ हामी व्यवसयिहरुले तिन आर्थिक बर्षको नविकरण शुल्क बुझाएर नविकरण गर्दा पनि नियामककै अनिच्छाले गर्दा अगाडि बढाउन नसकिएको अवस्था रहेको छ भने बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको र एकदमै खर्चिलो माध्यमको रुपमा रहेको शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा हामी व्यवसायिमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्चको रुपमा मात्र हामीले लीएका छौं ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको बिकासशिल देशमा बिस्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यव्सायिको पुजि कयौं गुणाले उच्च राख्न लागाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिनानै हचुवाको भरमा अल्पदृस्टि राखि निर्णय गरेको कुरा प्रष्ट हुन्छ । नेपालमै पनि अन्य किसिमका धितोपत्र व्यवसायिहरुले गरिरहेका कार्य गर्ननै दलाल व्यसायिहरुले तिनै व्यव्सायिहरुले कायम गर्नुपर्ने भन्दा पनि गुणात्मक रूपमा बढी पुजि कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्वको हामी दलालव्यवसायिहरुप्रति पुर्वाग्रह रहेको कुरा प्रष्ट हुन्छ । धितोपत्र दलाल व्यवसायको जोखिम ब्यवस्थापनका लागि अपरिहार्य अङ्गको रुपमा रहेको निक्षेप सदस्य व्यवसाय पुजिको ठुलो आवश्यकता खडा गरि हामी व्यवसायिहरुबाट खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिमनै नबुझेको कुरा पनि प्रस्टै पार्दछ ।
तसर्थ, आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायिहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पुजिको कमि भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुजि लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सिमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजारनै असन्तुलित हुन जानेहुँदा हाल अर्थमन्त्रालयमा बिचाराधिन रहेको यस मस्यौदामा हामी व्यवसायिहरुको पनि राय सुझाव समेटिनेगरि पुन छलफल चलाउन आवश्यक रहेकाले उक्त मस्यौदा पुन नेपाल धितोपत्र बोर्डमानै फिर्ता ल्याइ गहन अध्ययन गराइ तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारम अघि बढ्न अनुरोध गर्दै सम्पुर्ण धितोपत्र दलाल व्यवसायिहरुको तर्फबाट यो ज्ञापनपत्र पेश गरेकाछौं।
भवदिय,
गुणनिधि भुसाल
महासचिब