६ मंसिर, २०८१ बिहिबार

09:19:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमितको उपचार सेवालाई नियमित गर्न बीमा बोर्डले गर्यो स्वास्थ्य संस्थालाई आग्रह

Nepal Business

१० असार, २०७९

बीमितको उपचार सेवालाई नियमित गर्न बीमा बोर्डले गर्यो स्वास्थ्य संस्थालाई आग्रह

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार सेवालाई नियमित गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो । 

बीमा बोर्डले बीमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बीमितको उपचार नगर्ने घोषणा गरेका थिए ।

स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बीमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ ।

आव २०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ संङ्ख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बीमित सङ्ख्या गरी कूल ५२ लाख ८४ हजार ८९४ बीमित बिरामीको दाबी परीक्षण गरी आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्ती अनुसार बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब भइरहेको छ । 

आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अपनाई परीक्षण गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । अहिलेसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

प्रतिपरिवार तीन हजार ५ सय रुपैयाँ तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बीमा कार्यक्रममा दिइने गरिन्छ । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गरिरहेका छन् ।

देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।