२१ बैशाख, २०८१ शुक्रबार

07:54:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरौः मन्त्री अथक

Nepal Business

८ असार, २०७९

खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरौः मन्त्री अथक

काठमाण्डौं । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई सम्मानगर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ ।

ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्रीअथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको हो । 

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले इतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत व्यक्त गर्नुभयो । 

राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, ‘यो भन्दातपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।’

खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै मन्त्री अथकले काम गर्न खोज्दा आफु र आफ्नो मन्त्रालयले ११ वटाभन्दा बढि मुद्धा खेप्नु परेको बताउनुभयो । 

यद्यपी विभिन्न समस्याकाबिच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री अथकले दावी गर्नुभयो ।

विश्वको उदाउँदो अर्थतन्त्रका रुपमारहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको मन्त्री अथकको भनाई थियो ।  

अन्तराष्ट्रिय सम्बन्धतथा कुटनितिका रुपमा समेत विश्वमा खेलकुदलाई लिने गरिएको उल्लेख गर्दै मन्त्री अथकले नेपालले समेत खेल कुटनितिमार्फत अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताउनुभयो । 

उहाँले पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ‘हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमाजोड दिनुपर्छ” मन्त्रीअथकले भन्नुभयो, ‘प्रतियोगिताको समयमा मात्र खेलाडी खोज्ने अरु बेला मतलव नगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।’

मन्त्री अथकले ओलम्पीक तथा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्मनेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान समेत गरिएको थियो। 

सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर,जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन्। 

नेपालबाट अहिले सम्म समर ओलम्पिकमा ८४ र युथओलम्पिकमा ४ गरि कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीता जनाईसकेका छन । जसमध्ये ९ ओलम्पियनको निधन भईसकेको छ ।