८ मंसिर, २०८१ शनिबार

03:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१४ कम्पनीको सेयर मर्जरको नाममा रोक्का, लगानीकर्तालाई निल्नु न ओकेल्नु

Nepal Business

८ असार, २०७९

विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तिय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि धितोपत्र बजार (नेप्से) मा ती संथाहरुको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ।

१४ कम्पनीको सेयर मर्जरको नाममा रोक्का, लगानीकर्तालाई निल्नु न ओकेल्नु

काठमाण्डौं । धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल विभिन्न १४ वटा कम्पनीको सेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरिएको छ । मर्जर र एक्विजिशनसँग सम्बन्धी व्यवस्थित नीति नभएर वर्षौँसम्म कारोबार रोक्का राखिँदा लगानीकर्ताहरु मारमा परेका छन् । सेयरमा अड्किएको पूँजी लगानीकर्ताका लागि निल्नु न ओकेल्नु भैरहेको छ । 

हाल नेप्सेमा कारोबार रोक्का हुने १४ वटा कम्पनीहरूमध्ये ३ वटा वाणिज्य बैंक, ४ वटा लघुवित्त, ५ वटा इन्स्योरेन्स र २ वटा हाइड्रो रहेका छन् । 

चिरन्जीवी नेपाल गभर्नर रहनु भएको बखत राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने  (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ को संसोधित संस्करण २०७५ मा प्रकाशित भएको थियो।

सो विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तिय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि धितोपत्र बजार (नेप्से) मा ती संथाहरुको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ।

हाल नेप्सेमा कारोबार रोक्का हुने १४ वटा कम्पनीहरूमध्ये ३ वटा वाणिज्य बैंक, ४ वटा लघुवित्त, ५ वटा इन्स्योरेन्स र २ वटा हाइड्रो रहेका छन् । 

 वाणिज्य बैंक ३ वटा

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने मर्जर तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको छ । 

अहिले यी २ बैंकको मर्जर प्रक्रिया टुटिसकेको छ । तर पनि कारोबार भने खुल्ला गरिएको छैन । हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेको हो ।

सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरको प्रस्ताव अस्विकृत गरिएको थियो । मर्जर प्रकृया भाँडिएसँगै यी दुई बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताहरू निराश बनेका छन् । किनकी यसको प्रत्यक्ष घाटा लगानीकर्ताहरूलाई हुनेछ । 

त्यसैगरी,नेप्सेमा गत पौष ३० गते, शुक्रबारबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी सम्झौता भएपछि बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ को अनुपातमा प्राप्ति गर्न लागेको हो । यसको अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

लघुवित्त ४ वटा 

दोश्रो बजारमा सूचिकृत लघुवित्तहरूमध्ये यतिबेला ४ वटा लघुवित्तको सेयर कारोबार रोक्का छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच २०७७ साल असोज ५ गते, सोमबार मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

सोही कारण समाज लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा कारोबारमा नआउँदै रोक्का गरिएको थियो । 

अहिले समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएको मर्जर खारेज भइसकेको छ । तर पनि कारोबार भने अझै खुलेको छैन । बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएको हुनाले मर्जर खारेज भएको थियो ।

यसैगरी,  धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार पनि नेप्सेमा २०७६ साल पौष २ गतेबाट रोक्का रहेको छ ।

त्यस्तै, डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडमा बिलय हुन लागेको नाडेप लघुवित्तको सेयर कारोबार पनि दोस्रो बजारमा २०७७ साल पौष १६ गतेदेखि रोक्का रहेको छ । 

यसका साथै, युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार २०७७ साल कार्तिक २३ गतेबाट रोक्का छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.५० को अनुपातमा मर्ज हुन लागेका हुन् ।

इन्स्योरेन्स ५ वटा 

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम दुवै कम्पनीको सेयर कारोबार नेप्सेमा वैशाख २३ गते, शुक्रबारबाट रोक्का राखिएको छ ।

यसैगरी, हालसम्मकै बीग इन्स्योरेन्स मर्जरका लागि सम्झौता गरेका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर कारोबार पनि नेप्सेमा जेठ ३ गते, मंगलबारबाट रोक्का गरिएको छ । 

हाइड्रोपावर २ वटा

रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक २२ गतेबाट दुवै कम्पनीको कारोबार रोक्का  छ ।

रिडी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी एक आपसमा गाभिनका लागि विद्युत नियमन आयोगबाट वैशाख २६ गते स्विकृती प्राप्त भएको छ । अब कम्पनीले छिटै विशेष साधारण सभा आह्वान गरी मर्जरको प्रकृया पुरा गर्ने जानकारी दिएको छ ।

हालसम्म १४ वटा कम्पनीहरूको सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरूको सम्पत्ती बन्धक बनेको छ । मर्जर र एक्विजिशन सम्बन्धी व्यवस्थित नीति नहुँदा त्यसको प्रत्यक्ष मारमा लगानीकर्ताहरू परेका हुन् । 

लगानीकर्ताहरूले समय समयमा विभिन्न माध्यमबाट नीतिसम्बन्धी विरोध गरिरहेका हुन्छन् । तर पनि नियामक निकाय सधैँझैँ मौन नै देखिन्छन् ।

मर्जर वा एक्विजिसन कै कारण वर्षौसम्म लगानीकर्ताहरुको पूँजी बन्धक भइरहेकोतर्फ कुनै पनि नियमनकारी निकायको ध्यान गएको देखिँदैन ।