८ मंसिर, २०८१ शनिबार
04:06:38 AM
७ असार, २०७९
गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।
काठमाडौं । आईपीओ भरेपछि त्यसको बाँडफाँड कहिले हुन्छ होला ? भन्ने चासोको बिषय रहेको हुन्छ लगानीकर्ताहरुको । अहिले लगानीकर्ताहरुको चासोको बिषयमा रहेको छ दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ भोली (असार असार ८ गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओ बाँडफाँड आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा गर्ने तयारी गरिएको हो । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा ८.८५ गुणा बढी आवेदन परेको छ ।
यो तथ्यांक हेर्दा दोर्दी खोला जलविद्युतको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने देखिन्छ । मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।